Monday, March 16, 2015

म लेख्नेछु एकदिन

पहाडसरि भावहरु उर्लेका बेला
गम्दै, खोज्दै, मुछ्दै,
साँचोमा राख्दै,
इँटाजस्तै शब्द बनाउदैथिएँ,
मिलाएर राख्ने कोशिश गर्दैथिएँ
ठीक त्यसैबेला तिमीले देख्यौ
तत्काल घोषणा पनि गरिदियौ
आहा! कति राम्रो कविता
अनि म कवि भएँ

छन्द मिलाउने के कुरा
भाव मिलाउने त झन् के कुरा
काँचै थिए शब्दहरु
खारिनै बाँकी थिए
परिपक्वता त झन् आएकै थिएन
नजानेरै म कवि भएँ

अचेल!
व्यवहारिक, सामाजिक हुनुपर्ने 
केही रहरले केही करले
केही कुरा जीवनले सिकाउदैछ
केही आफैं पनि सिक्दैछु
भावहरु नआउने होइनन
नलेखेको पनि होइन
लेखिरहन्छु मेटिरहन्छु
जाँगर घटेको होला
लेख्न तर छोडेको छैन

त्यसैले आशा मरेको छैन
कुनै दिन त अवश्य तयार होला
त्यो मैले लेख्न खोजेको
जसलाई म भन्नसकूँ
कविता!