Tuesday, March 12, 2013

देशभक्तिका कुरा



देशभक्ति त मर्दैन चुत्थै देश भएपनि
पतिभक्ति त मर्दैन चुत्थै पनि भएपनि

माथिका हरफहरु बालकृष्ण समको मुकुन्द-इन्दीराबाट साभार गरिएका हुन। दोस्रो हरफको बारेमा बहस गर्नु जरुरि छैन किनकि आजको समयमा यसको सान्दर्भिकता खासै छैन। यहाँ कुरा गर्न खोजिएको भने पहिलो हरफबारे हो। हुन त आजको विश्वमा भूमण्डलीकरणको कारणले देशको परिभाषा पनि फराकिदै गएको अनुभव गर्न सकिन्छ तर पनि देशहरु त छन् र छन् सिमानाहरु पनि। जे जस्तो कुरा गरे तापनि आखिर देशप्रेम भइनै हाल्छ। भलै तेसलाई व्यक्त गर्ने तरिका फरक होलान सबैको। कुनै ठुला लेखकले भनेका पनि छन् जसले आफ्नो ठाउँ, आफ्नो मान्छे र आफ्नो माटोलाई माया गर्न सक्तैन उसले विश्वप्रेममा विश्वाश गर्छु भन्नु नै विरोधाभास हो। म आफु पनि हाल अध्यनको सिलसिलामा विदेशमा छु। नेपालमा हुँदा बरु त्यहाँका घटनाहरु खासै गम्भीर लाग्दैनथ्यो तर यता हुँदा भने फरक अनुभूति हुँदोरहेछ। सायद नेपालमा त्यहाँका घटनाहरुले अभ्यस्त भएर पनि तेस्तो हुँदो हो। जस्तै हामी हुर्कदा नेपालमा माओवादी जनयुध्द चल्दैथियो। मान्छे मर्नु र संरचनाहरु ध्वस्त हुनु त नौलो कुरै लाग्थेन। तर यता हुँदा समाचार धेरै पढिने भएर हो कि चिन्ता बढी लाग्दो रहेछ। अर्को कुरा अध्यन सकाएपछि नेपाल फर्किनुपर्छ भन्ने आफ्नो सोचाई भएर पनि यस्तो भएको हुनसक्छ। फर्केपछि के गर्ने भन्ने आफ्नै चिन्तासंग गाँसिएको भएर पनि तेसमा बढी चिन्ता लागेको पो हो कि। तर मेरा साथीहरु जो अब सधैँ नै विदेशमै बस्ने भनेर निर्णय गरिसकेका छन् उनीहरुमा पनि यस्तै धारणा रहेकोले मेरो मात्र सन्दर्भ फरक नहोला। समय समयमा फेसबुक/ट्विटरमा बहस चलिरहेको हुन्छ र आफ्नो बिचार राखिन्छ तब कसैले विदेशमा हुनेले किन यस्तो जान्ने हुने भन्छन। उनीहरुले दिनरात नेताहरुलाई गाली गरेर बस्नु हुने, हामीले सामान्य चासो समेत पनि राख्न नहुने जस्तो अचम्म। बरु तिनले आफ्नो कार्यालयमा काम गर्नुपर्ने समयमा नेतालाई गाली र सुझाव दिदै बसेर त देश विकास पक्कै पनि हुन्न होला। सबैले आफ्नो काम इमान्दारितापूर्वक गर्ने हो भने देश पनि त आफै अगाडी बढ्दो हो। राजनीति राम्रो नभैकन अवश्य पनि केही कुरो राम्रो हुन नसक्ला तर सबैको दैनिक जस्तो काममा राजनीतिको सोझो सम्बन्ध पनि भैहाल्ने होइन। अनि विदेशमा हुनेलाई गाली गर्नुको केही तुक देख्दिन म। बरु कहिलेकहिँ कुण्ठा भने अवश्य देख्छु।

देशभक्तिको कुरो गर्दा गर्दै कुरो त कताकता पुगीसकेछ। देश चुत्थै भएपनि देशभक्ति त मर्दैन रहेछ साँचिनै। हुन त देश भक्ति पनि अन्धो भएर गरियो भने त यो पनि एक किसिमको अतिबाद नै हो। तर मैले भन्न खोजेको भने देशप्रतिको माया हो। हाम्रोमा भने भारतलाई गाली गर्नु भनेकै देशभक्ति भन्ने चलन भैसक्यो। हुन त यो राजनीतिक नेता देखि लिएर तथाकथित बुध्दिजिवीहरुको कारणले पनि होला। नेपालका नेतृत्व नालायक हुनुको कारण भारतलाई दोष दिएर हुने पनि होइन। अनि बुध्दलाई नेपालमा जन्मेको र सगरमाथा नेपालमा छ भन्ने कुरामा झगडा गरेर मात्र पनि राष्ट्रप्रेम देखिने होइन। बुध्द जन्मिएको समयमा न त अहिलेको नेपाल भन्ने देश अस्तित्वमा थियो न त भारत नै। यो हाम्रो लागि अवश्य पनि ठुलो गौरवको कुरो हो कि यो भूभाग अहिलेको नेपालमा पर्छ। तर तेसको बिषयमा झगडा गरेर राष्ट्रप्रेम झल्कन्न, तेसैगरि सगरमाथा पनि। गौरव त ति कुराहरुमा गर्न सक्न पर्यो जुन हामी आफैले निर्माण गरेका छौ।




ब्लग नलेखेको धेरै भैसकेको थियो फेसबुकमा यो भिडियो देखेर लेख्न मन लाग्यो। मैले लेखेको भन्दा पनि यहाँ भनिएको कवितामा विदेश बसेर देशलाई सम्झिनेहरुको उत्कृष्ट चित्रण छ। विहान उठेर जुन देशमा बसिएको छ त्यो देशको भन्दा आफ्नै देशको समाचार सुन्न मन लाग्नु पनि देशको प्रेम नै त होला। अनि अर्को कुरा जतिनै आप्रवासीहरु प्रति राम्रो नियम भएता पनि आफ्नो देश जस्तो भावना आइनहाल्ने रहेछ। जस्तो कि हामी देख्छौ कतै बम बिस्फोट मात्र हुन पर्छ, कारण जे सुकै भएता पनि विदेशबाट आएका भनिएका मुस्लिम समुदाय नै सबैको आँखाको तारो बन्छन। अगाडी पनि लेखेको थिएँ संसार एक भैसक्यो अब, जता बसेपनि उस्तै हो। देश भनेको त मान्छेले बनाएको फगत एउटा सिमाना न हो। तर यो सिमानाले एक कालखण्ड पछि एउटा संस्कृति र मुल्य‍ मान्यता पनि बनाउदो रहेछ जुन जता गए पनि मर्दो रहेनछ। सायद यहि नै होला राष्ट्रप्रेम भनेको पनि।