Wednesday, January 2, 2013

के इमान्दार हुनु भनेको मूर्ख हुने हो?

नेपालमा भ्रष्टाचारको मुद्दाहरु समय-समयमा उठ्ने अनि फेरि हराउने गर्छन। शब्दकै कुरा गर्ने हो भने भ्रष्ट आचरणलाई भ्रष्टाचार भनिएको होला। फेसबुक/ट्विटरमा बेला बेलामा बहस पनि हुने गर्छन। हुन त कुन हो हिन्दी फिल्ममा त भनेकै छ, हामी परिक्षामा पास हुन त भगवानलाई नै घुस चढाउने संस्कारबाट हुर्केकाछौ, अनि किन नहोस त यो व्यापक। भलै त्यो भगवानले पाउनेमा नै शंका छ। हुन त भगवान भन्या के हो, छन् वा छैनन् त्यो अलग कुरो हो। तेसको बिषयमा कुनै अर्को बेला बहस गरौला, अहिलेलाई भ्रष्टाचारकै कुरोमा केन्द्रित होऔं।

केही समय अगाडी मात्रै एक-दुइ नेताहरु भ्रष्टाचारको आरोपमा जेलमा पर्दा ठुलै हल्लाखल्ला भो। हो, देश र जनताको सेवा गर्छु भनेर राजनीति गर्नेहरु तेसरी भ्रष्टाचार गरेर सम्पति थुपार्नमा लाग्नु मात्र लाग्नु नहुने हो तर हामीले के पनि सोच्नुपर्छ भने हामी जनता पनि यसमा दोषी छौं या छैनौँ। भनिन्छ नि हामी जस्तो छौं हामीले पाउने नेता पनि उस्तै हुन्। गहिरिएर सोच्ने हो भने हाम्रो समाज नै भ्रष्टाचारी छ जस्तो लाग्छ मलाई त। भ्रष्टचारी भन्नु भन्दा पनि तेसलाई प्रोत्साहन दिने खालको भन्दा अझ वेश होला। नेपालमा कसैले प्रगति गर्ने भनेकै पैसा कमाउने हो भन्ने जस्तो भैसक्यो, पैसा कसरी आयो त्यो कुरा महत्वपुर्ण भएन। राम्रो संस्कार हुनु, पढेलेखेको हुनु, राम्रो पेशामा लाग्नु, राम्रो व्यापार/व्यवशाय गर्नु, इमान्दार हुनु भनेको प्रगति हुनु होइन, फगत पैसा हुनु मात्रै प्रगति हुनु हो। अनि घुस खाने/खान मिल्ने ठाउँ भनेको राम्रो ठाउँ हो। सरकारी कर्मचारी देखि प्रहरी सम्म, दलका नेता/कार्यकर्ता देखि मन्त्रिसम्म सबैलाई राम्रो ठाउँ चाहिएको छ। राम्रोको अर्थ भन्सार, मालपोत, कर, यातायात, वन, नापी लगायत अवैधानिक रुपमा पैसा कमाउने ठाउँहरु हुन। सरकारी कर्मचारी भएपछी त जनताको काम गर्ने हो, सबै राम्रो हुनु पर्ने हो नि, तर होइन नेपालमा अलग छ। यस्तो ठाउँमा रहेर कमाएकोलाई भ्रष्टाचार भन्दैन समाजले, फलानो राम्रो ठाउँमा परेछ अनि प्रगति गर्यो भन्छ। अनि काठमाण्डौ बाहिरबाट आएर खरदार/सुब्बा नै भएपनि घुस खाएर ठुलो घर बनायो भने त झन फलानोले ठुलो प्रगति गरेछ भनेर वाह-वाह गर्छ समाज। तर यसको बिपरित एउटा व्यक्ति इमान्दार छ तर माथिल्लो तहको हाकिमनै रहेछ भने पनि त्यो त मूर्ख हो भन्छन। तेस्तो हाकिम भएर के काम, पैसा पनि कमाउन नसक्ने, एउटा घर पनि बनाउन नसक्ने, त्यो त मूर्ख नै होभन्छन। जबसम्म यो सोचाई समाजमा रहिरहन्छ, तबसम्म यस्ता भ्रष्टाचारका कारवाहीका समाचारले केही असर गर्दैन। घुस खाएर र जनतालाई ठगेर कमाएकोलाई जबसम्म यो प्रगति होइन, ठगी हो भनेर हामीले भन्न सक्तैनौं तबसम्म केही हुनेवाला छैन। र जबसम्म जागिर खानको लागि पढेलेखेका मान्छेहरु पनि भनेजति पैसा तिर्न तयार हुन्छन, तबसम्म यो शृंखला बन्द हुने छाँट देखिन्न।

फेसबुक/ट्विटरको कुरो गर्दा मेरा केही साथीहरु (जसका बाउहरु घुस्याहा सरकारी कर्मचारी थिए/छन्) वाग्ले र गुप्तामाथिको कारवाहीमा त दङ्ग परेर कमेन्ट गर्दैथिए तर आफ्नो घर कसरि चलेको छ भनेर भने अनभिज्ञ (?) देखिन्थे। भ्रष्टाचारको कुरा गरिरहँदा कतिपय कर्मचारीहरु वाध्यता पनि हो भन्छन, आकाशिएको महंगी, बच्चाहरुको स्कुल फि, खानेकुरा देखि लिएर सबैकुरा पुर्याउनको लागि घुस खानैपर्ने हुन्छ भन्छन। यो पनि एउटा समस्या त हो तर त्यो भन्दा पनि उत्तरदायित्वबाट पन्छिने सजिलो जवाफ भने पक्कै हो। यो समस्या ठुलै हो भने पनि ठुला व्यापारी, नेता र ठुला कर्मचारीलाई त घुस खानु नपर्ने, सबै भन्दा भ्रष्ट झन तिनै छन्। अनि कारवाहीको बिषयमा कुरा हुँदा पनि यिनीहरु त साधारण भष्टचारी मात्र हुन्, परिवर्तित (?) देशमा भएका लडाकुका नाममा गायब भएका अरबौंका रकम, बैंकहरु लुटिएका अरबौं रकम, ठुला-ठुला विश्वविध्यालयमा नियुक्तिमा नाममा भित्रभित्रै लिइएका रकम, विभिन्न सरकारी निकायमा नियुक्तिमा भएका चलखेल, ठेक्कापट्टामा विभिन्न पार्टिका संगठनका चलखेल लगायत भ्रष्टाचार त कति छन् कति, तिनको लेखाजोखा कसले गर्ने यहाँ। गर्ने एउटा निकायपनि प्रमुखविहिन भएको धेरै समय भैसक्यो क्यारे। भविष्यका युवा पुस्ताका नेताबाट आश गर्नु एक किसिमले बेकार नै छ। किनभने आजभन्दा १०-१२ वर्ष अघि यिनीहरुले पनि क्याम्पसमा युनियनको चुनावमा गरेको खर्च र चलखेलको हिसाब गर्ने हो भने केही आश गर्ने ठाउँ देखिदैन। हामीले अहिले देखेका छौं तेसरी खर्च गर्ने युनियनका नेता आज पार्टिका युवा नेता छन्। तर तिनका पैसा खाएर भोट हाल्छु भन्ने पढेलेखेका बिद्यार्थीपनि यसमा तेतिनै जिम्मेवार भने हुन है। तेसैले सुधार गर्नुपर्ने हामीहरु आफैबाट हो, पहिलो त। तेसैले घुस खानेलाई निरुत्साहित गरौँ, सकिन्छ भने घुस नदिकन काम गरौँ र काम पाउनकै लागि पैसा खर्च गर्ने काम नगरौँ। र अर्को कुरा इमान्दारिताको कदर गरौँ। जबसम्म प्रगतिलाई पैसामा मात्र जोखिन्छ र इमान्दार व्यक्तिलाई मूर्खको नाम मात्र दिने गरिन्छ, तब यस्तो समय पनि आउँछ जब इमान्दार मान्छे म्युजियममा मात्र भेटिन्छ।