Friday, May 25, 2012

फेरि संबिधानकै कुरा

झन्डै चार बर्ष अगाडि संबिधानको बिषयको लेखेको यो लेख अझै पनि सान्दर्भिक देखिन्छ। तर आज भने अलि फरक बिषयमा लेख्दैछु

थेसिसको काम गर्नुपर्नेछ, deadline आउदैछ नजिकै, तर नेपालको समाचारले पनि चिन्तित गराउदैछ । संबिधानसभाबाट संबिधान बनाउने कुरा उखान जस्तै हुन पुगिसक्यो। सारा नेपाल विभाजित छ । सबैलाई राज्य चाहिएको छ। जातीय राज्य नभैकन कुनै पनि जातिको विकास हुदैन भन्ने निस्कर्षमा मान्छेहरु पुगिसके। देशमा प्रादेशिक व्यवस्था हुने भन्नेमा त सबै पार्टीहरु सहमत देखिन्छन, तर नाममा भएको झगडा बढ्दो छ।  नेता त राजनीति गर्नेहरु हुन्, यिनीहरु त आफ्नो स्वार्थको लागि जे पनि गर्छन (त्यो पनि नेपालका बिशेष), तर सिंगो समाजनै विभाजित भएको देखेर पो अचम्म लाग्छ। अचम्म मात्र होइन डर पनि लाग्छ घरि घरि त। नेपाल त फर्कनु नै छ, ढिलो या चाँडो, त्यो ठ्याक्कै त थाहा छैन। तर यस्तै घटनाहरुले सोच्न बाध्य बनाउछन। Facebook मा साथीहरुको status पढ्दा झन् छक्क पर्छु। दलित, हेपिएको र पिछडिएको वर्गको जीवनस्तर सुधार्नेमा बढी प्रयास हुनुपर्नेमा बहस जातीयताको बिषयमा सरेकोछ। हो, इतिहासमा कुनै जाति बिशेषको भाषा, संस्कृति पछाडि परेकै हो तर जातीय राज्य बनाउनु मात्र यसको समाधान हुने उपाय हो र? सयौं जात जति भएको मुलुकमा नामको आधारमा प्रदेश बनाउने हो भने कतिवटा बनाएर साध्य होला र। बरु बन्ने प्रदेश भित्र प्रत्येक जात जातिको कसरी प्रतिनिधित्व गर्न सकिन्छ, तेतातिर भने कसैको पनि ध्यान गएको देखिन्न।

हुन त नेपालमा बुझेरै मात्र कुरा गर्ने  तेही दिशामा काम गर्ने मान्छे भेटिनु त मुश्किल नै छ। संबिधानसभा भन्ने कुरा सायदै सबै नेपालीले बुझे होलान। सबैको के कुरा गर्ने, मेरा नै कतिपय पढेलेखेका र बुझेका जस्ता लाग्ने साथीहरुले त तेसलाई संसदको चुनाव मात्र ठानेका थिए। अझ गाउँघरको त के कुरा गर्नु र। नेताहरुले गरेका भनेका नै आश्वासन बाँड्ने काम हो। म चुनावमा गाउँ जाँदा भेटिएका अधिकांशले कांग्रेस र एमालेले केहि गरेनन, तेही भएर माओबादीलाइ भोट हालियो भन्दैथिए। यो संबिधान भनेको के हो र यो बनाउने भनेको के हो भन्ने त तिनलाई झन् के थाहा हुँदो हो। अहिले संघियता र प्रदेशको बिषयमा पनि नेताहरुले जे भने तेसकै पछि कुद्ने जमात तयार छ। उसै पनि आफ्नो जात र अस्तित्व माथि कसैले प्रश्नचिन्ह उठायो भने जो पनि आवेशमा आउनु स्वाभाविक नै हो। 

म स्कुल पढ्दाको एउटा साथीको कुरो सुनेर अचम्ममा परे। उसको facebook मा नेवार जाति र राज्यको बयान भन्दा पनि बाहुनलाइ गाली गर्दैमा फुर्सद छैन उसलाई। हुन त यो ब्राह्मणबाद भन्ने शब्द नेपालमा भित्रिएको बाहुन जाती भन्दा पनि संस्कारलाइ भन्न खोजिएको थियो, तर अहिले आएर त्यो जाती बिशेषमा केन्द्रित हुन पुग्यो। २५० बर्ष अघिको नेपाल एकीकरणलै पनि गाली गर्न पछि छैन उ। हुन त त्यो नेपाल एकीकरण होइन राज्य बिस्तार भन्ने पनि एउटा तर्क हुँदो हो, तर तेही कारण नै हो जसले गर्दा नेपाल आजको भूगोलमा छ। सत्रौ-अठारौ शताब्दीमा सबैले गर्ने शासन शैली तेस्तै नै थियो भन्दा हुन्छ। हो, पहिले काठमाडौँ केन्द्रित राजनीतिले देशका अरु भेगका जनता प्राथमिकतामा कहिले परेनन्। तर तेसको समाधान स्वरूप अब हामी त्यो भन्दा अघि कै टुक्रे टुक्रा राज्यमा फर्कन खोजेको हो र? कुनै जाती, समुदाय, भाषा पछाडि परेको छ भने उनीहरुको उत्थानको लागि राज्यको नाम नै सबै भन्दा महत्वपूर्ण कुरा नहोला। मान्छेहरुले फेरी राज्य पाए भने सबै समस्या सुल्झिन्छ भन्ने सोचेका छन्, राज्य पाउनु ठुलो कुरो नहोला। भोलि तेही भित्र जात जाती मा झगडा हुन थाल्यो भने त्यो भन्दा नराम्रो के हुन सक्ला र 

संबिधान बन्नको लागि अब केही समय मात्रै बाँकी छ। अहिलेलाइ हतार गरेर जातीका नाममा प्रदेश दिंदाखेरि पछि जाती जातीको युद्धमा चर्कन बेर छैन। तेसको सामान्य झलक त हामीले नेपाल बन्दको दौरान भएको घटनाहरु बाट पनि देखिसकेका छौ। तेस्ता घटना हरु नबढ्ला भन्ने के छ र? तेसैले बरु जाती बिशेषको नभएर सबैलाई मान्य हुने नाम दिएर अगाडी बढ्दा पनि ठिक हुन्थ्यो कि। बरु ती बन्ने प्रदेशहरुमा कुन जातीको बाहुल्यता छ, त्यो भाषा, संस्कृतिलाइ प्रोत्साहन गर्ने नीति बनाउन सकिन्छ होला। यस्तै कुरा गरेर लेख्दा अस्ति एक जनाले एउटा social नेटवर्क मा जवाफ दिनुभएको थियो, विदेशमा गएर अरुको भाँडा माझेर देश र नेतालाइ गाली गर्ने अनि सल्लाह दिन पाइन्न रे। एक त सबैलाई एउटा रुपमा हेर्ने आँखाको दोष हो र अर्को देशमा अवसरको कमी हुनु पर्ने विदेशिने कारण हो। तर विदेशमा हुनेले देशको माया गर्न नहुने भन्ने उनको भनाइ पनि अति नै लाग्यो। ती व्यक्ति आफै भने आफ्नो गाउँ छोडेर काठमान्डू आएर जरो गाडेर बसेका थिए भन्ने कुरो कसले सम्झिदिनु। हुन त संसार ग्लोबल भैसक्यो भन्छन, तर आफ्नो देश आफ्नो भाषा र संस्कृतिलाइ माया नगर्नेले कसरी संसारलाई माया गर्न सक्ला र। 

तर एउटा कुरा के हो भने हुने खाने र पहुच भएका व्यक्तिहरुले अरु व्यक्तिको बारेमा नसोचेको कारणले नै अहिले हो अवस्था आएको हो। हामी हेर्न सक्छौ काठमाडौँ उपत्यका तेत्रो विकसित हुँदा पनि यसको वरिपरी रहेको तामांग बस्तिहरुको  विकास हुन नसकेको त यथार्थ हो। यति नजिकको त यस्तो अवस्था रह्यो भने मधेश र सुदुर पश्चिमको हालत झन् के हुनु।  तेसको अर्थ एक-आपसमा झगडा गर्नु नै समस्याको समाधान त होइन नि। बरु अब तेसलाई नयाँ संबिधानमा कुनै रुपमा सम्बोधन गर्न सकिन्छ, त्यो तर्फ ध्यान दिनु पो जरुरि छ त। अर्को कुरा, दलित र पिछडिएको वर्गको हालत त झन् खराब छ। सबै जातीकै राज्य बने पनि ती समुदायमा भएका तल्ला मानिएका जातीको उत्थान अझ महत्वपुर्ण मुद्दा हो, तेसतर्फ खोइ र ध्यान पुगेको? संबिधान बन्नै लागेको संघारमा आशा गरौ सबैलाई स्वीकार्य संबिधान बनोस, जात जातीको सद्वाव नबिग्रियोस् , इश्वरले (छन् भने ) सबैलाई सद्बुद्धि प्रदान गरुन। जय नेपाल