Wednesday, December 22, 2010

आफ्नै पुस्ताको बारेमा

उमेर बित्दै गैरहेको छ हुन त समय पनि त बित्दै गैरहेको छ नि। मान्छेहरु भन्छन नि तन बुढो भए पनि मन भाको छैन भनेर। बर्षै साल जन्मदिन आउँछ, बुढो बनाएर जान्छ। तरपनि आफु भने जहिले पनि उस्तै छु जस्तो लाग्दो रहेछ। अस्ति भर्खर स्कुल पढ्दाको साथीसंग कुराकानी भयो, तेही स्कुल पढ्दाकै उमेरमा पुगेजस्तो भयो। College पढ्दाको साथी भेट्दा उस्तै अनुभव हुन्छ, तर समय त निकै गैसकेको पो रहेछ त। हुन त जीवनका तीन दसक उमेर त जाबो छोइएको हो, तैपनि समय निकै बितेको जस्तो अनुभव हुँदोरहेछ। नेपालीको औसत उमेरको हिसाब गर्ने हो भने पनि आधा त गइ त हालेछ नि। हुन त शेर बहादुर देउवा त युवा नेता हुने ठाउँमा म किन बुढेसकालको कुरा गरिराको होला। हामी र हाम्रो उमेरका पुस्ताले नेपालमा धेरै परिवर्तनहरु आफ्नो युवाकाल भित्रै हेर्न पाइएकोले पनि तेस्तो लागेको पो हो कि। तेही भए आज आफ्नै पुस्ताको बारेमा केहि कुराहरु गर्न मन लाग्यो। हाम्रो उमेरमा घटेका केहि घटनाहरु र परिवर्तनको कुरा गर्न मन लाग्यो

राजनीतिको कुरा गर्दा हामी सानो हुँदा नेपालमा पंचायत ब्यबस्था थियो। सानोमा राजनीतिक चेतना तेती नभएता पनि राजा भनेका ठुला मान्छे हुन्, उनको कुरा काट्न पाइन्न भन्ने चाही ज्ञान थियो। तेस्को लगतै देशमा आन्दोलन भयो ४६ सालको, प्रजातन्त्र आयो। त्यो समयमा अरु कुरा नबुझे पनि पम्फादेवी, मण्डले चै खुब सुनियो। प्रजातन्त्र आएको अरु कुरा बाट थाहा नभए पनि रुख र सुर्य चिन्ह चै खुब देखियो चुनाव ताका। साथी साथीमा रमाइलो कुरा हुन्थ्यो, को कांग्रेस-को कम्युनिस्ट भनेर। तेस्तै हल्लाखल्लाको बिचमा ५ रुपिया तिरेर कुनै बिधार्थी संगठनको सदस्य पनि बनियो तर पनि राजनीतिको र पनि बुझिएको थिएन। राजनीतिमा घात अन्तर्घातको कुरा को बिच माओबादीले सशस्त्र आन्दोलन पनि शुरु गरे। खै यो प्रजान्त्रले नपुगेर हो वा यसमा लड्न नसकेर हो, थाहा थिएन (हुन त अहिले पनि छैन)। यहि बिचमा संसदीय अभ्यासका नयाँ नयाँ रुप पनि देखियो। फेरि राजाको शासन हुदै, आन्दोलन, वार्ता हुदै राजसंस्थाको अन्त पनि देखियो। जे जति पनि देखियो, व्यक्तिमा र राज्यको शासन गर्ने कुरामा फरक देखियो, अरु केहि भने फरक देखिएन। एउटा कुरा चै परिवर्तन भयो, मान्छेले आन्दोलन गर्न चै सिके

हामी सानो छदाँ सुन्ने भनेको रेडियो नेपाल नै थियो। नेपाली गीतहरु, शनिबार दिउसो आउने नाटक, जे थियो रेडियो नेपाल नै थियो। तेसो त short wave तिर येसो घुमाएर हिन्दी गीत पनि सुन्न पाइन्थ्यो। टेलिभिजन आएपछी भने tele-film र अरु कार्यक्रमहरु पनि  हेर्न पाइयो।प्रतिभाको डबली भन्ने कार्यक्रम त अझै सम्झिन्छु म चक्रब्युहू, टाढाको बस्ति, निमित नायक खुब चर्चित थियो। दुरदर्शनबाट आइतबार आउने महाभारत पनि कम्ति रमाइलो हुन्नथ्यो। पछी Dish-Antenna आयो।तेसपछी त Zee TV  र अरु च्यानल पनि शुरु भए। तेतिखेर Wrestling  हेर्न भने खुब रमाइलो लाग्थ्यो। यस्तै बिचमा नेपालमा FM Radio शुरु भयो। तेसपछी त संचार जगत झन अगाडी बढ्यो। निजि television channel हरु शुरु भए। अहिले त इन्टरनेट पनि सहज हुन थालिसक्यो। Wave Magazine निस्किदा यसले हामीलाई wave generation भन्थ्यो, अहिले भने जताततै इन्टरनेटले गर्दा अहिलेको पुस्तालाई त facebook generation भन्नुपर्ने स्थिति आइसक्यो। हुन त अहिले नेपालमा त चरा र मुसा बाहेक सबको facebook account छ। अलिक अगाडी hi5 भन्ने popular थियो, अहिले हरायो त्यो पनि। सबै परिवारका मान्छे कोहि न कोहि बिदेश तिर छन् फोटोहरु हेर्न सजिलो, facebook के मोहनी लगाइसक्यो हामीलाई। social networking अब हामी पनि बिदेशीका जस्तै कम्प्युटरमा गर्ने भैसक्यौ। जे सुकै होस, facebook को पनि जय होस्

पढाईको कुरा गर्दा हामी I.Sc. पढ्न Ascol जाँदा खासै २-४ ओटा बाहेक नाम चलेका निजि कलेज थिएनन। अहिले त घरैपिच्छे 10+2  भैसके। एक हिसाबले त राम्रो हो, तर कति त college हुन् कि पैसा कमाउन खोल्या उध्योग हुन बुझ्न गार्हो छ। जे होस् अहिले स्कुल पढ्नै भनेर India जाने चलन भने हटेको छ कम्तिमा। अनि अचेल विदेश जाने त लहर नै छ। हामी I.Sc. पढ्दा त Toefl दिने रे फलानोले भन्ने नै news झैँ हुन्थ्यो। विदेशमा गएर पढ्ने कुरा त राम्रै हो तर बुझ्दै नबुझी हतारिएर जाने बानि भने बढ्दो छ हाम्रोमा। आधा भन्दा बढी यो उमेरमा विदेश जानेले राम्रो पढेको चै भेटेको छैन मैले। यो त भयो स्नातक गर्न नै विदेश जानेका कुरा तेस बाहेकका त झन के कुरा। डाक्टर, engineer त झन पढाई सिद्दिनासाथ भाग्न तयार। हुन त देशको राजनीतिक अवस्थाले गर्दा केहि उल्लेखनीय काम हुन सकेको छैन, अनि को बस्न खोज्न त देशमा पनि। तर एउटा कुरा चै अचम्म लाग्छ मलाई। कोहि नेपालमै बसेर काम गरेको मान्छे छ भने, उसलाई त केहि गर्न नसक्ने मान्छेको रुपमा हेर्न थालिसके। म आफु पनि सम्झन्छु, Collegeमा पढाउदा ताकाको कुरा, "सरको कहिले बाहिर जाने? कि जाने विचार नै छैन।" नेपालमै बस्नु भनेको त अपराध नै गरेको जस्तो गर्ने बा। हुनपनि विदेशबाट पढेर आएको मान्छे भन्नासाथ उसलाई हेर्ने नजर नै बेग्लै छ अनि के गरुन त उनीहरु पनि। नेपालमै दुख गरेर बसेको मान्छे भन्दा लम्फु भएपनि विदेशबाट आएको भन्नासाथ तलब देखि सब कुरा नै अलग 

पहिले पहिले हजुरबाको पालाको उखान सुन्या जस्तो हुन लागिसक्यो यो उमेरमै हाम्रो कुरा पनि, अहिलेकै पुस्ताले पत्याउन गार्हो। ८/९ रुपियामा १ लिटर मट्टीतेल पाइन्थ्यो भन्ने कुरा उखान नै भयो नि अब त। ५० पैसाका सिसाकलम, २ रुपियाका कापी, १/२ रुपियामा पाइने बिस्कुट उखान नै भयो नि। भनेपछि हाम्रो उमेर संगै महंगी पनि बढेर बराबर भैसकेछ। यी कुराको List लामो छ, Nursing Home (तर्सिंग होम) को शुल्क, बिधालयको शुल्क, Kathmandu को जनसंख्या, मोटरसाइकल र mobile phone को लहर, गुच्चा र चुंगी देखि Computer Game सम्मको Transition, आलु र प्याजको भाउ, फूटबल देखि Cricket सम्मको छलांग, Dail up देखि Broadband internet सम्मको पहुँच आदि। त्यहि भएर हाम्रो पुस्ताले जति अनुभव सायदै अरुपुस्ताले पाए होलान, र यहि अनुभव आन्दोलन र ढुंगा हानाहान बाहेक उपलब्धिमुलक काममा लाग्यो भने त देशलाई पनि पक्कै फाइदा हुँदो हो