विपना नभई बाँचिदिने म भित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा-प्यारा सपना
आँशुसितै पग्ली झर्ने, हाँसोभित्रै खेलिरहने
प्रीत नपाई रोजी हिंड्ने ती अधुरा मेरा सपना
विपना नभई...
भावनामा अल्झीरहने, कल्पनामा बल्झिरहने
जीवन नपाई खोजी हिंड्ने ती पुराना मेरा सपना
विपना नभई...
मैले प्राय: सुनिरहने गीतहरु मध्येको गीत हो यो। आज गीत सुन्दा सुन्दै यसको शब्दमा पनि ध्यान दिएर सुन्दै छु।नारायण गोपालका गीतहरु कहिले कहिँ त abstract art जस्तै लाग्छन, जसरी अर्थ लगायो उस्तै लाग्ने। यी र यस्ता गीतहरु चीरस्थाई रहेको शब्द, सङ्गीत र स्वरको उचित तालमेलले नै त होला। आज यसको अर्थ खोज्न मन लाग्यो। हामी जीवनमा कुनै क्षेत्रमा लागेका हुन्छौ तर यो जरुरि छैन कि त्यो आफुले रोजेकै र आफ्नो इच्छाको होस्। जीवन एक सम्झौता न हो। सीमाहिन र असम्भवजस्ता लाग्ने सपनाहरु र तीता मीठा यथार्थको बिपनाहरुका सम्झौता नै जीवनको वास्तविकता त हो। तर पनि मनका कुनै कुनामा रहर र आकांक्षाहरु त रहेकै हुन्छन जुन जीवन जिउने क्रममा चाहेर वा नचाहेर पुरा भएका हुन्नन्। कसैको राम्रो स्वर हुँदो हो, गाउने रहर पनि हुँदो हो तर पुरा गर्ने नसकेको हुनसक्छ। कोहि राम्रो चित्र बनाउन जान्ने होलान तर समय र परिस्थितिले गर्दा तेसलाइ समय दिन नसकेको होस्। कोही राम्रो अभिनय गर्न जान्ने होलान्। यस्तै सपनाहरु त रहँदा हुन् जीवनमा जो विपना हुन सकेका छैनन् तर मरिसकेका पनि छैनन्।तेही भन्न खोजिएको हो कि यस गीतमा पनि। भावनामा अल्झीरहने, कल्पनामा बल्हिरहने र जीवन नपाई खोज्दै हिंड्ने ती पुराना सपनाहरु त होलान सबैका जीवनमा।हुन सक्छ कुनै दिन जीवन पाउने सम्भावना पनि होस्। आँशुसितै पग्ली झर्ने, हाँसोभित्रै खेलिरहने यी सपनाहरु जीवन र प्रीतको खोजीमा हुन्छन। तेसैले त भनिएको होला विपना नभई बाँचिदिने सपनाहरु। मरे पनि रहिदिरहने सपनाहरु।यस्तै रहर र सपनाको कुरा गर्दा एउटा लेख लेखेको थिएँ, तेही सम्झिएँ अहिले। तेसैले यो गीत सुन्दा मलाई पनि मेरा विपना नभई बाँचेका मेरा सपनाहरु याद आउछन र आशा छ म ती सपनाहरुलै मर्न दिन्न, एक दिन अवश्य विपनामा परिणत गर्छु।
सपनाकै कुरा गर्दा यस्तै टुक्रा टाक्री लेख्ने क्रममा मैले एक चोटी लेखेको थिएँ, "सपनाहरुसङगै बाँच्नु त रमाइलो छ नि, यथार्थ त प्राय: तीतो नै हुन्छन"। तेतीखेर एक जना दाई( बिनित) ले जवाफ दिनु भएको थियो "तितो यथार्थ र मिठो सपना बिचको खाडल पुर्ने दु:ख पनि मिठै हुन्छ"।यो हरफ म प्राय: सम्झिरहन्छु।
0 comments:
Post a Comment