Thursday, August 27, 2009

संवाद

उ: यो बाटो कतिको राम्रो छ?
म: किन मलाई यो प्रश्न?
उ: तिमी त यो बाटो हिँडिसकेको मान्छे।
म: हिंड्नु मात्रै त के ठुलो कुरो भयो र, यहाँ असन्ख्य हिंडेका छन।
उ: तिमी त गन्तब्यमा पुगिसक्यौ नि त।
म: म जहाँ छु त्यो नै गन्तब्य हो भनेर तिमी कसरी भन्न सक्छौ?
उ: तिमी सफल देखिन्छौ नि त।
म: देखिनुमा के छ र। हिजो सफल भनिएकाहरु खै आज कोही देखिदैनन। फेरी सफल केलाई मान्ने हो र।
उ: तैपनी यो बाटोको बारेमा त केही भन। म यसमा हिँडु कि नहिँडु।

म: यहाँ चाहनेको लागि जताततै बाटैबाटा छन, तैपनी बाटो आँफैले खोज्नुपर्छ। म हिंडेको बाटो तिमिलाई मिल्छ भन्ने के छ र। यात्राको मज्जा त फेरी बाटो पहिलाएर हिंड्नुमा पो छ त। अरुले देखाएको बाटोमा त जो पनि हिड्छन नि।

उ: तिमीले जानेका कुरा भनेर मेरो यात्रा सजिलो हुन्छ भन्ने तिम्रो के जान्छ र। कि तिमीले जती दु:ख पायौ त्यो मैले पनि पाउँ भन्ने हो?

म: मैले सबै भनिदिँदा सजिलो त होला र यता पनि छिट्टै आउलाउ तर यती चाँडै यता आएर गर्ने के हो? तिमी अल्मलिन सक्छौ, तेही भएर खोज्दै आउ। उकालो- ओरालो गर्दै आउ। भोक र तिर्खाको अनुभव गर्दै आउ। गर्मी र जाडोको महसुश गर्दै आउ। दु:ख र पसिना बगाउदै आउ। अहिले आयौ भने यहाँ जो छन तीनले केही गर्न दिने छैनन तिमीलाई। अनुभव लिएर आउ। अर्को कुरा यो नै गन्तब्य हो भन्ने भुलमा नपर। त्यहाँबाट हेर्दा यो ठाउँ जहाँ देखिन्छ, यहाँ आएपछी फेरी अर्को ठाउँ देखिन्छ। यसको अन्त्य छैन, न त यसको सुरुवात नै थियो।

उ: तिमी त अध्यत्मिक पो हुन थालेछौ नि।

म: तिमी युवा छौ, बिज्ञानका ठेलीहरु खाएका छौ र सब कुरामा तर्क र फिजिक्स लगाउछौ। जब तिमी तेसभन्दा पनि पर जान्छौ, तब तिमी पनि यहीँ नै आउछौ।

उ: खै त म त झन अलमल्लमा परेँ के गर्ने हो। तिमीले बाटो देखाउछौ जस्तो लागेको थियौ त्यो आश पनि जाने भो। हिंड्न त म आँफै हिडिहाल्थेँ नि, तिमीसँग सल्लाह पो मागेको त।

ए के भो अचानक, तिमी त धमिलो छाँया जस्तै पो भयौ त। होइन तिमी त हावाको बेगजस्तै पो गायब भयौ त। ओहो झरनाको कलकल जस्तै पो आवाज आयो त। चराको चिर्बिर। उषाको किरण। म खै कता हराएँ कुन्नी, निद्रामा पो रहेछु कि क्या हो? म उ हो कि उ म हो केही छुट्याउन सकिन। कानमा आवाज भने गुन्जिरह्यो: आफ्नो बाटो आँफैले बनाउनुपर्छ।

Wednesday, August 5, 2009

क्रमभंगता

धेरै भो नलेखेको पनि। के लेख्ने भन्ने विषय नभएको पनि होइन। यसो हेर्दै थिएँ प्रत्येक महिनामा कम्तिमा एउटा भए पनि लेखेको रहेछु मैले। यो महिना त केहि पनि लेखिएनछ। अचेल राजनीति देखि लिएर जताततै क्रमभंगताको कुरा हुदैछ आफुले पनि तेही अनुसरण गरियो भनौन अब। बितेको महिना नेपालमा थिएँ, घर परिवार, साथी-भाई, आफन्त भेटघाटमा समय बितेको त पत्तै पाइएन। लेख्ने फुर्सद नै भएन भनौन।

बिषय त प्रसस्तै थिए, के मात्र लेख्ने? जो पनि लेख्ने मात्र छन् गर्ने चाहिँ कसले हो कुन्नि। आफु पनि उही ड्यांगको मुला न परियो। गर्ने त आफु पनि कता हो र गफ चै दिइहालौं न मौकामा। जाजरकोटमा झाडापखाला महामारी छ, मन्त्रिजी विदेशमा छन् , प्रधानमन्त्रि फुलमाला पहिरेर हिड्नैमा ब्यस्त छन्।एउटा समूह सडकमा नागरिक सर्वोच्चता खोज्दैमा व्यस्त छ। काठमाडौँमा फोहोरको थुप्रो छ, पानी परेर त्यो पनि बगाउन थालेछ। फोरममा चिरा पर्यो रे, एउटा समूह प्रजातान्त्रिक रे अर्को चाहि के हो कुन्नि? एउटा बिधार्थी युनियनले बस तोडफोड गरेरे, अनि ३ दिन यातायात बन्द भयो रे। आफुलाई भने airport आउनको लागि गाडी चलेको छ कि छैन भन्ने मात्र tension। साचै एउटा अलि रमाइलो कुरा, रमाइलो त कसरी भनौं आफुले पनि दुख पाइयो। एउटा राजा जनताले फालेका अर्को चै जनताले पालेका जस्ता। पहिलेको राजाको सवारीमा त एक दुइ घण्टा दुख पाइन्थ्यो तर अहिलेको राजा त झन बग्गीका साथ सवार दिन भर सडक जाम। एउटा पत्रिकाले लेखेको थियो नया नेपाल भनेको त माधव नेपाल पो रहेछ भनेजस्तै।खोइ कति लेख्ने र के मात्र लेख्ने। स्वस्थानीको कथामा भनेजस्तै छ। यसको बयान हजार जिब्रो भएको शेषनागले पनि सक्तैनन न त चतुर्मुख ब्रम्हाले नै सक्लान।

उही हो, के लेख्ने भन्दा भन्दै लेख्ने बिषय फुर्यो। काठमाडौँको जय होस् र जय होस् नेपालको। हामी सबै नेपाली न पर्यौ। नेपालको जय भएपछी त हाम्रो पनि अवश्य जय होला नि। जय नेपाल।