Thursday, February 19, 2009

लेख्न मन नलाग्दा नलाग्दै

आज धेरै पछी केही लेख्ने जाँगर चल्यो तर लेख्ने पो के हो केही थाहा छैन। अचेल लेख्ने काम कम भएको छैन। त्यस्तो ब्यस्तता त केही होइन, तर पनि खोइ किन हो। हुन त जीवनमा जे पनि गर्न सकिन्छ जस्तो लाग्छ नि, सबैले सबै काम कहाँ गर्न सक्छन र! एक दुईओटा लेखहरु लेख्न थालियो, साथीहरुले हौस्याए, कति न राम्रो लेख्छु जस्तो लाग्न थाल्यो। तेही हो केही समयलाई निरन्तरता पनि पायो। अचेल साथीहरु, दाईहरु, भाईहरुको लेख पढ्न ज्यादा थालिएको छ, लेख्ने त त्यसरी पो हो त जस्तो लाग्दैछ।

अचेल तेही भएर पढ्नेतिर मन लाग्न थालेको छ। भर्खरै Arabinda Adigaa को The White Tiger पढेर सिध्याइयो। सलल बगेको राम्रो लाग्यो। दुई दिनमै सिधियो। कोर्सको किताब जस्ताको तस्तै छ। कहिलेकाँही लाग्छ लेख्ने क्षमता कहाँ सबैको हुन्छ र। मेरो पनि लेख्ने बेला भएको छैन। तर सोच्छु यो त मेरो मनको बहकाइ हो, कहाँ लेख हो र कसैलाई राम्रो लाग्यो भने ठीक छ नभए पनि के भो र। मेरो मनको भाव हो, मेरो नितान्त ब्यक्तिगत सोचाइ हो कोही सहमत हुनु र नहुनुमा के फरक पर्छ र। तेसो भए किन लेख्छन त कोही। व्यावसायिक रुपले वा ब्यक्तिगत इच्छाले। नेपालकै कुरा गर्ने हो भने पहिले व्यावसायिकता त के थियो र। अचेल को कुरा बरु बेग्लै। देवकोटाकै कुरा गरौन। तिनको धेरैले पढेको तेही मुनामदन त हो, धेरैले स्कुलमा यात्री पढे होलान। उनका अरु निबन्ध, महाकाव्य त हामी पढिटोपल्नेहरु त बुझ्दैनौ सामान्य मान्छेले के बुझ्नु।नारायण गोपालकै गीतको शब्द हेरौन कती गहिरो हुन्छ अर्थ। कती गीतको अर्थ त अझै बुझेको छैन मैले पनि। सामान्य मान्छेले उनलाई चिन्ने गीतहरु एउटा मान्छेको मायाले कती जस्ता गीतहरु न हुन। भनेपछी लेख्ने कसको लागि त र कसरी। सबैले बुझ्ने सरल मीठो शैलीमा वा गहन शब्दहरुमा। हुन त चलेका कुराहरु सबै राम्रा कहाँ हुन्छन र। तेसो त नचलेका कुरा पनि सबै नराम्रो कहाँ हुन्छ र। गाउँ-गाँउमा भट्टीहरु खुब राम्रै चल्छन तेसो त, तेसलाई कसरी राम्रो भन्ने। तर पनि देवकोटालाई वा नारायण गोपाललाई धेरैले चिन्ने भने ति गहन भन्दा पनि सामान्य शब्द नै हुन जस्तो लाग्छ।

लोकगीतको ब्यापार किन बढी हुन्छ नेपालमा? तेही त हो कारण। म कान्तिपुरमा लेखहरु पढ्थे अभि सुबेदीका कहिले नबुझ्ने। थाहा छैन म मात्र त्यस्तो पाठक हो कि, नत्र त त्यो हट्नु पर्ने। बिनिर्माणबाद, उत्तर-आधुनिकबाद, प्रगतीबाद, यथार्थबाद खै के के हुन वाद पनि। मलाई त तीनलाई खाली सिङ र पुच्छर नमिलेको लेख जस्तो लाग्छ। हुन त अध्ययनको कमीले पनि होला। नाटक हेर्यो घरी के बिम्ब प्रयोग गरेको रे, त्यो पनि बुझ्नै गार्हो तैपनी दिन दिनै तीनकै मात्र चर्चा हुन्छ। आफुमै कमजोरी छ होला सोच्यो बस। अमुर्त कला भयो झन तेही हालत। कला के को लागि हो साहित्य के को लागि हो थाहा छैन। यदी आफ्नो लागि हो भने त जे गरे पनि भयो। तर सबै समाजको लागि हो भने त उनीहरुले पनि बुझ्नु पर्‍यो नि। हुन त हामी कहाँ धेरैले नबुझ्ने कुरा लेख्यो भने ठुलो भइन्छ भन्ने लाग्छ कि क्या हो धेरैलाई।

अर्को कविताको कुरा। धेरै नाम चलेका कविका कविताहरु पनि बुझ्दिन म। तेही भएर पहिले चिया खुवाउदै कविता सुनाउथे क्यारे। कल्पना भित्रका कल्पनाहरु, अनेकन बिम्बहरु। तर पनि जताततै तेस्तै कविता देखिन्छ। आफुलाई त भुपीका कविता ठीक लाग्छन।

यस्तै किन लेख्ने र के लेख्ने भन्दा भन्दै एउटा लेख पनि तयार भयो। पहिल्यै भनेँ नि आफुलाई पनि थाहा छैन किन लेख्दैछु। चर्चा पाउन, त्यो पनि हुनसक्छ। मनको भाव पोख्न त्यो पनि हुन सक्छ। तर त्यस्तो बुझ्न गार्हो कुरो भने लेखिन्न, किन तेती त अध्ययन पनि त हुन पर्‍यो र चाहना पनि। आफुलाई त सजिलै बुझ्ने कुरा नै ठीक लाग्छन। मन्द चलेको हावा, पारीलो घाम, हरियो घाँस, नीलो आकाश, झर्झर झरना सबै ठीक, तेस्मा केही त्यस्तो गहन कुरा केही छैन। हुन त सरल कुरा मात्र बुझ्न चाहेर कहाँ सुख छ र, यो जीवन नै यती गहन छ, जती बुझ्यो तेती बुझ्न गार्हो ति लेखहरु त यसका अगाडि फिक्का छन नि।

Saturday, February 7, 2009

एउटा भए त

यात्रा हो कि घुमाइ बुझ्नै गार्हो भो
पाइला बरु रुक्थ्यो होला थकान भए त

हिंडेको हो कि दौडेको हो बुझ्नै गार्हो भो
धर्म बरु मिल्थ्यो होला काशी गए त

बचन हो कि सल्लाह हो सुन्नै गार्हो भो
आँखा बरु बग्थ्यो होला दु:ख भए त

फुल हो कि काँडा हो देख्नै गार्हो भो
हाँगा बरु झुल्थ्यो होला फल भए त

सुख हो कि दु:ख हो बाँच्नै सार्हो भो
फुल बरु फुल्थ्यो होला मौसम भए त

मन हो कि भाव हो चिन्नै गार्हो भो
चरा बरु उड्थ्यो होला आकाश भए त

सबैलाई माया गर्ने एउटा भए त
पूजा बरु गर्न हुन्थ्यो देउता भए त