Tuesday, January 27, 2009

दोधार...

गाउँमा धुवाँ-धुवाँ देख्छु। चौतारीमा शीतलता छ। उकालोको बाटो कठिन देख्छु। ओरालोमा चिप्लिने डर छ। गाउँमा जीवन चलेकै देख्छु। समाचार तर नराम्रो छ। चौतारीको कहाँ भर हुन्छ र, पल पल हुरी बतास र असिनाको डर देख्छु। चौबाटोमा उभिएको छु। तल आफ्ना मान्छे छन, त्यहाँ झन अन्धकार देख्छु। डाँडा पारी सपना छ, बाटो तर देखेको छैन। सम्म बाटो सजिलो छ, अर्को चौतारीको तर पत्तो छैन। चौतारीमा कुर्न सजिलो छ, शीतल छ र छ आशा पनि। जहाँबाट गाउँ देखिन्छ। एक दिन त घाम लाग्ला,त्यो घाम ताप्न म पनि आउँला।

Wednesday, January 7, 2009

पग्लिएका मैनहरु

चिसा चिसा रातहरु
मीठा मीठा बातहरु
कहाँ रहे र अब
छन त केवल
लडेर मर्केका हातहरु
मातेर बितेका रातहरु
घात अनि प्रतिघातहरु

फुलेका फुलका थुँगाजस्तै
मैले पालेका जुँगाजस्तै
सधैं रहने छैनन केही पनि
आँधीको बीचमा डुंगाजस्तै

मैनबत्तिको उज्यालो छ
वरीपरी जताततै अन्धकार र कालो छ
पग्लेरै सिध्दिने भए सबै मैनबत्तीहरु

हल गर्न सकिएका छैनन अझै समिकरणहरु
बढ्दै छन मानिसका मरणहरु
थाहा छैनन कारणहरु
कहिले सम्म हो भोग्नुपर्ने यस्ता चरणहरु
बादलले छेकेको छ
धेरै माथि छन घामका किरणहरु