Monday, December 29, 2008

घाम डुबी तारा नउदाएको आकाश हुँ म



भिमदर्शन रोकाको कविता हो यो। पुरा कविता त याद छैन। यो साल हामीलाई छोडेर जाँदैछ। अर्को साल केही दिनमै शुरु हुँदैछ। यो पनि घाम डुबेर तारा नउदाउदाको जस्तै समय त हो नि। तर यसको अर्थ मैले २००८ लाई घाम र अब रात आउन लागेको भन्न खोजेको होइन। यो समय पनि सन्क्रमणकालको समय हो भन्न खोजेको मात्रै हो। यस्तै केही घाम डुबेका तस्बिर संकलन गर्ने प्रयास हो यो।

Friday, December 19, 2008

परिवर्तन

मलाई चिनेनौ कि क्या हो?
म दौरा-सुरुवाल छोडेर सुटमा सजिएकोछु
म त्यही त हुँ
जसले तिम्रो जीवनलाई परिवर्तन गर्न
आफ्नो सारा जीवन बिताइदियो

तिमीले खोजेको
मैले पनि चाहेको
भईरहेकै छ नि
हिजो उनिहरुको हातमा मात्र शक्ती थियो
आज हामी सबैको हातमा बन्दुक र खुकुरी छ

त्यो अस्पताल हेर त
हामीले तेसको नाम परिवर्तन गरिदियौं
भलै तिमीले डाक्टर र ओखती फेला नपारौला
तर त्यो नयाँ अस्पताल त हो नि

त्यो बिधालय हेर त
हामीले तेसको पनि नाम परिवर्तन गरिदियौं
भलै तिमीले शिक्षक फेला नपारौला
किताब र कापीको सट्टा इट्टा र टायर बोक्ने जमात पनि भेटौला
तर त्यो नयाँ बिधालय त हो नि

तिम्रै लागि यो राजमार्गको नाम पनि फेरियो
भलै चक्काजामले गाडी गूड्न नपाओस
नयाँपन त आयो नि

तिमीले गुनासो गर्ने गर्थियौ नि
हामी जिन्दगीभर दियालोमा बाँच्ने
शहर चै सधैं झिलिमिली हुने
हेर त हामीले शहर पनि परिवर्तन गरिदियौं
अब उनिहरु पनि टुकिमा पढ्दैछन

तिमीले अझै मलाई चिनेनौ?
राजा त म होइन नि
हामीले त्यो व्यवस्था हटाइसक्यौं
म त्यही त हुँ
जसले तिम्रो जीवनलाई परिवर्तन गर्न
आफ्नो सारा जीवन बिताइदियो

Saturday, December 13, 2008

Thanks for the coffee

चिसो बढ्ने क्रम घटेको छैन। बाटोमा जमेका हिउँ पग्लिसकेको छैन। यो ठाउँमा एक महिना अघि मात्र पनि हरियाली थियो भन्ने कुरा असम्भव झै लाग्छ। साँझ हुन खोज्दैछ तर पूर्ण चन्द्र आकाशमा छ। राती घाम देखिने ठाउँमा दिउसै चन्द्रमा देख्नु पनि के नौलो भयो र! म आफ्नो बासस्थानमा फर्कदैछु। मलाई हिउँमा टेक्दै त्यसको आवाज सुन्दै हिंड्न रमाइलो लाग्छ, तर आज त म गीत सुन्दै हिंड्दैछु। यस्तो हिँउमा पनि साईकल चलाऊदै हिंड्छन यिनिहरु, अचम्म लाग्छ मलाई। हुन त जहाँ जे छ तेस्मै रमाउन सक्यो भने त जीवन सरल हुन्छ नि। हामी भए हिँउ पर्नासाथ बेसींतिर झरिसक्थ्यौं होला। सजिलो भयो नि त्यो बाटो।

पछाडिबाट साईकलवालाले घन्टी बजाउदै रहेछ, गीतको सुरमा मैले त सुनिनछु। पछी देखेर ठाउँ छोडिदिएँ। अगाडि गएर हिँउमा नमज्जासँग लड्यो साईकल। म पनि अगाडि सरे साईकल उठाउन मद्धत गर्न। साईकल उठाएपछी हेर्छु त एक युवती रहिछ। उसै त गोरी, तेसमाथि पनि त्यो lamp-postको प्रकाश हिँउमा छरिएर झनै गोरी देखिन पुगी। धन्यवाद सुन्न पाइयो, तेतिमै धन्य भईयो आफु त। कसैलाई बनाउदा पनि इश्वरले कति मिहिनेत गर्छन् होला। मैले उसलाई कुनै परीभन्दा कम देखिँन। उ साईकल डोहोराउँदै हिंड्न थाल्छे अब। म बोल्न हिच्किचाउँछु र आफ्नै सुरमा हिंड्न खोज्छु। उस्ले नै सुरुवात गर्छे। कुरा चिसो मौसम बाट सुरु हुँदै देश,पढाई, बसाइ सँगै फेरी मौसममै आएर टुङिन्छ। बाटो छुटिने मोड आउँछ। उस्ले प्रस्ताव गर्छे कफीको, तेती टाढा होइन रहेछ ठाउँ पनि, म नकार्न सक्तिन। यो जाडो मलाई तेती मन परेन म भन्छु। उनिहरु यसलाई Bad weather होइन Bad clothing भन्न रुचाउँदा रहेछन। मलाई यो बडेमानमा लुगाहरु सार्है झन्झटिलो लाग्छन तर बच्नु त छ यो चिसो मौसमबाट, केही गर्न पनि सकिन्न। उ एकछिनमै दुई कप कफी सहित आईपुग्छे। कफी सँगै गफहरु सुरु हुन थाल्छन। अब गफ मौसमबाट ब्यक्तिगत रुची,संगीत यस्तै कुराहरुमा पुग्छ। उस्ले टि.भी ON गर्छे। म यहाँको भाषा बुझ्दिन तैपनी उ मलाई कार्यक्रमको बारेमा बताउन खोज्दै हुन्छे। मेरो रुची नदेखेर हो कि उस्ले english फिल्म आउने channel लगाउछे। फिल्ममा हिरो र हिरोइनको चुम्बनको दृष्‍य आउछ, म उसको अनुहारमा हेर्न सक्तिन र रिमोट खोज्न पुग्छु। म channel change गर्न खोज्छु। तर volume बढ्न पो गईदिन्छ। म उसको अनुहारमा हेर्छु। उ मलाई नै हेरीराखेकी हुन्छे।मैले केही नबोल्दै उ मेरो नजिक आएर बसिदिन्छे र अचानक मलाई चुम्न थाल्दछे। म पनि आफुलाई रोक्न सक्तिन। यो जाडो मौसम, यो चुम्बनको स्वादसँगै म अर्कै दुनियाँमा पुग्छु। रिमोट थिचिएछ क्यारे sports channel मा पुग्छ। उ र म दुबै जना रोकिन्छौँ। "I think I should go,"कफी सिदिएपछी म भन्छु। उसले आजको डिनर गर्ने प्रस्ताव गर्छे। मेरो पुरुष मन न पर्‍यो आखिर, म पनि सहमत हुन्छु।

उ नुहाउन बाथरूम भित्र छिर्छे। म BBC हेर्न थाल्दछु। यतिकैमा Naturally Nepal भन्ने बिज्ञापन बज्दछ। म कल्पनाको संसारबाट हराउदै फेरी यथार्थमा आईपुग्छु। त्यो बिज्ञापन सँगै म मेरो गाउँमा पुग्छु। मेरा बा दुधको क्याल्टी लिएर तल बजार झर्दैहोलान। उनको त्यो स्वेटर सार्है थोत्रो भयो होला, अब त अर्को किन्ने बेला पनि भयो। यो महिना केही पैसा जम्मा गर्न सकेँ भने अवश्य पनि पठाउन पर्ला। आमा अझै घाँस दाउरा गर्दैछिन होला। उनलाई दम छ, त्यो चुल्होको आगोको धुवाँले कति असर गर्दै होला। मैले घरको अवस्था सम्झिन थालेँ। अबको बर्खामा त छानो पनि टाल्नु पर्छ। बहिनीको पनि त बिहे गर्नुछु। मनमा अनेक तर्कना आउन थाल्छ। कफीमै यो हालतमा पुगेको डिनर पछी के होला।अघी सम्म म रोमन्चित थिएँ। यो बिज्ञापन सँगै त्यो सबै मलाई गल्ती हो कि जस्तो लाग्न थाल्दछ।मेरो बाउ-आमाको ठुलो सपना छ म माथि। मैले धेरै पढ्नुछ र ठुलो मान्छे बन्नुछ। म यस्ता कुराहरुमा अल्मलिनु हुँदैन। मलाई थाहा छैन म यहाँबाट निस्केर राम्रो गर्नेछु वा म यहाँ रातनै बिताएर पनि मेरो सपना असफल नै हुनेछ। म मुल्याङ्कन गर्न सक्तिन। म एउटा कागतमा चिट लेखेर छोड्छु र त्यहाँबाट भाग्छु,"I just remembered that I have to submit an assignment tomorrow so I couldn't join you for the dinner, anyway,thanks for the coffee".

Monday, December 1, 2008

abstract कविता

पातमा अडेको पानी
आँशुले भरिएको आँखाको नानी
पग्लेको हिउँको पानीझै
चिप्लिएछु मै पनि

फुसफुस परेको हिउँ
थाकेको छ जीउ
मन भन्छ नलिउँ
मौसम भन्छ पिउ न पिउ

मौसम छ जाडो जाडो
रौं पनि भए ठाडो ठाडो
तिमी छौ तेती टाढो
तैपनी माया छ गाढो

खोइ त अचेल घाम
मान्छेकै मात्र छ लाम
गएर आए चार धाम
हजुरबा लिदैछन रामको नाम
कामरेडले गरे लालसलाम
खानै गार्हो भो माम
कविता लेख्ने पो भो काम