Thursday, October 30, 2008

हजार सपनाहरुको....

हजार सपनाहरुको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरी भएर आँउछ

मैले बाँचेको परिवेश सानो तेती थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिएन
अल्झे कहीँ त के भो बाटो भुलेको छैन-२
भाँचीसकेको विश्वाश फेरी भएर आउँछ

मेरा ती स्वरहरुलाई थुन्नु तेती भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
खुशीनै हो कि क्या हो मनमा भएर आँउछ-२
छिनमा लहर अनेकौ मनमा उठेर आउँछ

हजार सपनाहरुको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरी भएर आँउछ


मलाई मन पर्ने गीतहरुमध्यको एक गीत हो यो। शब्द मन पर्नु भन्दा पहिले त गीत मन परेको भक्तराज आचार्यको स्वरको कारणले होला। पहिले त शब्दमा तेती ध्यान दिएको थिइन, आज सुन्दा सुन्दै लेख्न मन लाग्यो तेसैले लेखिहाले। बिशेष त केही छैन। सुनेका धेरै गीतमध्ये अलीकता आशाबादी गीत जस्तो लाग्छ। जीवनमा केही गर्न नसकेको, बाटोमा अल्झेको पिडा त छदैछ, तेसको बबजुद पनि हजारौ सपनाहरुलाई सम्झेर बाच्ने प्रेरणा त छ नि। असल काममा अगाडि बढ्न खोज्दा तिम्रो स्वरलाई दबाउन खोज्नेहरु पनि होलान, तीनलाई थुन्न खोज्नेहरु पनि होलान। तर असल काममा लाग्नेलाई र अगाडि बढ्नेलाई यसले केही असर गर्दैन। बरु यसले त हौसला र प्रेरणा पो मिल्छ त अघी बढ्नलाई। गीत भन्छ छिनमा लहर अनेकौ फेरी उठेर आउँछ। स्व-मुल्याङ्कन छ लेखक(गीतकार)को र प्रेरणा पनि। एक्लै त थिएन कोही पनि। यदी त्यो बाचेको परिवेशमा एक्लो थिएन र नराम्रो गरेको थिएन भने अघी बढ्ने प्रशस्त ठाउँ छन। अल्झेर के भो र बाटो त भुलेको छैन नि।

म सोच्दैछु नेपाली गीत प्राय दु:खको, प्रेमिकाको बिछोडको, रक्सिको यस्तै-यस्तै बढी भेटिन्छन्। हुन त आशा र उत्साहका गीत गाउनेहरु नभएका त होइनन, तर उत्साह भन्दा पनि कुनै राजनीतिक रङमा मिसिन पुग्छन अन्तिममा। के संसारमा दु:खैमात्र छ त? उज्यालो घामको गीत किन कोइ गाउदैनन। नेपालीहरु बिदेशमा पनि दु:खै गर्छन्, स्वदेशमा पनि दु:ख गर्छन्, तेही भएर दु:खको गीत नै बढी पाइएको हो कि। हुन त युवा पुस्ताको गीतमा बढी उर्जा होला, तर १-२ महिना भन्दा बढी टिक्ने गीत भेटिन्न उनिहरुको। खुशीका गीत, रोमान्सका गीत चलचित्रमा पाईन्छ तर अचेलका फिल्मी गीत त झन के हो के? फिल्म नै तेस्तै बनेका बेला गीतमा मात्र के गुणस्तरको कुरा गर्ने? म यस्तै आशा र खुशीको गीत खोज्दैछु। गन्ने हो भने पनि सकिने सन्ख्यामा रहेछन। प्रेमका पनि गीत हुन न। कती बिछोडका मात्र सुन्ने। युगल गीत होस्, प्रेमी र प्रेमिकाको(पति र पत्नीको),प्रक्रितीको गीत होस्, चाडबाडको उत्सबको गीत होस्, नयाँ सालको गीत होस्, उत्साह र उमङको गीत होस्, खुशीको गीत होस्, जीवनको गीत होस्, उकालीको गीत होस्, चौतारीको गीत होस्, शुभकामनाको गीत होस्। यस्तै जीवनको बिबिध रङको गीत होस्।

Friday, October 24, 2008

मृत्‍यु

जिउँदै बोकेर आएको
तोते बोलीबाट शुरु भएर
कठीन यात्रा गर्दा पनि
कहिल्यै नछोड्ने
अन्तिम सत्य
बुझेरै पनि जीवन त जिउनै छ
अगाडि त बढ्नु नै छ
संघर्ष त गर्नु नै छ
अस्तित्वको रक्षा गर्नु नै छ

अन्तमा चाहिने के हो र
केही दाउरा?
एक टुक्रा कपडा?
थोरै जमिन?

बुझेरै पनि
नाम कमाउने होडमा
दाम कमाउने होडमा
जीवनको धेरै मोडमा
गल्ती गर्न पछी पर्दैनन कोही

फर्केर हेर त पछाडि
त्यो तिमी जस्तै
तिम्रै पछी आईरहेछ

(कसैको मृत्‍युको खबर सुनेर लेखिएको हो यो। हुन त मेरो नजिकको ब्यक्ती होइन तर मृत्‍यु त मृत्‍यु हो नि। जीवन वास्तवमै के हो र? होडबाजीमा लाग्दा-लाग्दै, झिना-मसिना कुरामा अल्झिदै जाँदा मान्छेले मृत्‍युलाई बिर्सेंको हुन्छ। हुन त फेरी तेही मात्र सत्य हो भनेर बस्यो भने त जीवन अघी पनि त चल्दैन। हो अघी बढ्ने क्रममा काम गर्दाखेरी यो अन्तिम सत्यलाई ध्यानमा दियो भने अवश्य पनि जीवन राम्रैगरी अघी बढ्ला कि? )

Tuesday, October 21, 2008

जागिर मोह

जागिर शब्द कती राम्रो सुनिन्न, पहिले जा अनि गिर भनेजस्तो। नभन्दै उस्तै त छ जागिर। सबैको आ-आफ्नो अनुभव होलान हुनत। सरकारी जागिरको लागि यो अती मिल्ने शब्द हो, प्राइभेटमा त कहाँ त्यस्तो। गिर या नगिर त्यो तिम्रो रोजाइ तर दिएको काम राम्ररी गर, दाँया बाँया गर्ने होइन। जाउठ कस्तो सुनिन्थियो होला। गएर काम गरेपछी अगाडी पनि बढन सकियोस न।

हुन त जागिर जसले खान्छ तेसको अर्थ के हो भने त्यो मान्छे कि त जागिर खान वाध्य छ, आफ्नो दैनिक आवश्यकता पुरा गर्न या उ सजिलो बाटोको खोजिमा छ। सजिलो यस अर्थमा कि जागिर(बिशेषगरी सरकारी) खाएपछी ढुक्क भयो जीवन। secure लाईफ भन्छौ नि हामी, तेस्तै। अचेल त जताततै आन्दोलनको मौसम छ प्राइभेटको पनि बाध्यता छ, जागिर खाएपछी ढुक्क। जागिर कसैले खोस्न सक्ने पनि होइन। तेसैले त हाकिमले अर्हाएको काम पियनले पनि मान्दैन यदी कुनै स्वार्थ छैन भने। जागिर अरुले खान सक्तैन। तर ठाउमा पर्‍यो भने त फेरी जागिर जाउठ पनि हुन्छ। ठाउँको अर्थ के भन्नुहोला। घुस खाने ठाउँलाई राम्रो ठाउँ भन्ने चलन छ नेपाली समाजमा। कोही भन्सारमा खर्दार थियो र उसले टन्न सम्पत्ति जोड्यो भने तेस्लाई घुस मान्दैन हाम्रो समाजले। अझ उस्को उठ्बस तेस्पछी ठुलो मान्छेसँग पो हुन्छ त। नेपाली समाजको चरित्र यस्तै छ। गाउँतिर दलित भनेर मन्दिरमा पनि छिर्न दिदैनन, पैसा भएको शहरमा छ भने उस्लाई पनि नमस्कार गर्न पछी पर्दैन हाम्रो समाज। यहाँ मैले दलितसँग कुनै रिस वा द्वेश राखेर यो शब्द लेखेको होइन है। हाम्रो गाउँमा गएर हेर्ने हो भने मान्छे पढ्ने-लेख्ने अलिकती मात्र जान्ने भयो भने उस्लाई जागिर चाहिहाल्छ। उस्को खेतिको कामले पनि राम्रो पैसा आउन सक्छ त्यो उस्ले सोच्दैन, न त अली बढी पढौ र केही गरौ भन्ने सोच्छ, सोच्छ त बस जागिर। काठमाडौं आयो २-३ हजारको जागिर खायो, यतै खर्च गर्‍यो। घरमा न केही सहयोग छ। बरु गाउँमा बसेर काम गरे त बाउआमालाई पनि मद्घत त हुन्थियो नि। तेसैले अचम्म छ यो जागिर मोह।

म पनि जागिर मोह नभएको त कहाँ हो र। कतीपए बेला बाध्यताले होला भने कतिपए बेला रहरले मैले पनि खाएँ जागिर। हुन त आफ्नै काम पनि गर्नुपर्छ भन्ने मान्यता पनि थियो। आफ्नै भनिएको काम उतिसार्हो सफल भएन, तेही त हो थोरै पुंजी ठुला सपना। जागिर खाएँ मैले पनि तर गिर्ने चाहना होइन है। शुरुका दिन प्राइभेटमा। ति दिनहरु सम्झन्छु, कती उर्जाशिल थिए। म दिनभरी काम गर्थें। हाकिमसँग रिसाएँ पनि होला तर ति दिनहरुमा मैले धेरै सिके। मास्टरी थियो त्यो, विद्यार्थी राम्रै मान्थे, पढ्ने र पढाउने उर्जा पनि थियो। केही समयपछी त्यो उर्जा पनि त्यस्तो सार्हो रहेन एउटै काममा मान्छेको तेती मन नलाग्दो होला शायद। तर पनि अध्ययन छुटेको थिएन। काम प्रतिको रहर टुटेको थिएन। पछी सरकारी जागिर पनि खाइयो। केही समयसम्म त कुर्सी पाउन नै संघर्ष गर्नुपर्‍यो, तेसपछी काम पाउन संघर्ष। यस्तो बेलामा दिन कसरी बित्छ, पत्रीका हेर्यो, चिया पियो बस। हाजिर गर्‍यो हिड्यो। बिस्तारै गफ गर्ने बानी बढ्न थाल्छ। काम कम अरु(हाकिम)को कुरा काट्यो बस्यो। तेहीबाट शायद गिर्ने कामको शुरुवात हुन्छ होला। जब काम हुन्थियो पनि त्यो त एक छिनमा सिदिन्थियो। मलाई लाग्छ सरकारी अफिसमा मान्छे धेरै चाहिदै चाहिन्न। मात्र मिलाउन सक्नुपर्छ। रमाउनेलाई तेही काममा स्वर्ग छ। गफ गरेरै सरकारले पैसा दिन्छ भने के भो र। रहदा बस्दा केही सम्पत्ति पनि जोडीहलिन्छ। केही ब्यक्ती पैसा कमाउने अर्को उपाय खोज्न थालछन, बुझिहलियो होला। त्यो पनि त गिर्ने क्रमको शुरुवात हो नि। कोही पैसा टन्न भएर पनि जागिर खान्छन,त्यो चै इज्जतको लागि। अहिले त सरकारी जागिर अझ महत्वपूर्ण छ तलब पनि राम्रो, राम्रो ठाउँ पर्‍यो भने झन राम्रो।मैले जागिर छोडेँ, धेरैले मलाई मुर्ख पनि भन्छन। मैले जागिर छोडे किनकी म गिर्न चाहन्न थिए। यदी त्यो काममा मैले पढेका-जानेका कुराहरुको थोरै मात्र पनि उपयोग भएको भए मैले गिरेको ठन्दैनथेँ होला मलाई। म साधारण ब्यक्ती हुँ। म आफुले गर्ने काम भन्दा अरु कुरामा ध्यान केन्द्रित गर्नु नपरेको भएँ पनि थोरै सफल ठान्थे होला। म पनि अरुजस्तै नबनौ भन्ने मेरो चाहना हो। अरुको कुरा काटेर दिन बिताउन नपरोस भन्ने चाहना थियो। बिस्तारै म पनि तेतै तिर फस्दैगए जस्तो लाग्थ्यो। तेसैले भन्छन नि बरु आफ्नै काम गर्नु राम्रो हो, जागिर भन्दा त। मैले खाएको सरकारी जागिरको एक बर्ष अनुत्पादक भयो जस्तो लग्थियो मलाई। तर जीवनलाई जिउदै जादा तेस्बाट पनि सिक्नु पर्ने कुरा धेरै रहेछन जस्तो लाग्छ मलाई। त्यो गिर्नु होइन रहेछ। तेस्को शब्द राम्रो भएन होला त्यो अलग कुरा हो तर जीवन उही हो। जागिर खाए पनि जागिर नखाए पनि जीवनमा राम्रो काम गर्नु पर्छ, तेस्को मुल्याङ्कन भविश्यले के गर्ला भन्दा पनि आफ्नो अन्तरमनको आवाजले के भन्छ तेस्मा ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। जीवन जिउने र तेस्लाई हेर्ने सबैको आ-आफ्नो दृष्‍टिकोण हुन्छ। तेस्तै हो सन्तुस्टी पनि। सन्तुस्टी नयाँ आवश्यकताको अन्त हो भन्छन फेरी। असन्तुस्टिले नै केही गर्ने जागर र प्रेरणा दिन्छ आखिर।

खोइ जागिरको बारेमा लेख्दा-लेख्दै कता कता पुगियो आज। यो शब्द नै यस्तै हो कि क्या हो?

Sunday, October 12, 2008

फर्केर आईज है....

म मदनदाइको पलेटी श्रंखला सुन्दैछु। उनलाई प्रश्न गरिन्छ, तपाईंको छोरा छोरी बिदेशमा छन, कस्तो लाग्छ तपाईंलाई? उनको जवाफले चित्त बुझ्छ। कानले खोज्छ, कानले पनि भेट्छ, आँखाले खोज्छ तेस्ले पनि भेट्छ, तर जब मनले खोज्छ, तब गर्हो हुन्छ। तेस्तै हो यो मनको कुरो बुझ्न गर्हो छ। अहिलेको नेपालको यो बाध्यता पनि होला, सबैले आ-आफ्नो सन्तानलाई यस्तै मनले खोज्दा खोज्दै पनि चित्त बुझाईरहनु परेको छ। हो भुगोलले हामीलाई अवश्य टाढा बनाएको होला तर यो मनको आवाज पनि सुन्न सकिन्छ कि जस्तो लाग्छ कहिले कही। हाम्रा आफन्तहरुलाई दु:ख परेको हुन्छ हामीलाई तेस्तै केही असजिलो महसुश हुन्छ। हाम्रो जहिले पनि उन्नती प्रगतिको कामना गर्छन् उनिहरु, तेही भएर त होला, जस्तो सुकै काठिन परिस्थितीमा पनि नेपालीहरु दु:ख दर्द भुलेर बचिरहेका छन।

हामी त मानव हौ, हामीलाई भुगोलले छेक्ला, रोक्ला; तर प्रकृतिलाई त कस्ले रोक्न सक्छ र। हामी प्रकृतिको माध्यम बाट त जोडीन सक्छौ नि। ए बहिरहेको हावा, यहाँबाट बहदै जा, मेरो श्वासको सुस्केरा लिएर जा। मेरो आराम बिरामको खबर लिएर जा। त यहाँबाट बहदै जा, जादा जादै तैले मेरो चाहने कसैलाई भेटिस भने यो मेरो खबर त्यहा सम्म पुराइदे। अहिले दशै छ,त्यो बाबियोको पिङ गौचरनमा हाले होलान। त्यो पिङ म मचाउन त त्यहा आउन सक्तिन, त आउँदा आउँदै त्यो पिङ्को झट्काको आवाज बोकेर आईज। त्यो बांस सुसाइरहेको होला तेस्को आवाजको संगीत पनि बोकेर आईज। त्यो कल्कलाई रहेको खोला, त्यो चिर्बिर कराइरहेका चराको आवाज सबै लिएर आईज। मेरो गाउँको त्यो बास्ना लिएर आईज। ए बगिरहेको खोला, त यहाँबाट बग्दै बग्दै कुनै बेला मेरो गाउँको खोलालाई भेटिस भने, यहाँ मैले गाएका गीतहरु, मैले लाएका प्रीतहरु, मेरा दौतरी र मीतहरु सबैलाई मेरो माया सुनाइदे। त्यो खानीखोला कुनै दसैंमा मेरो जुत्ता बगाएको थिईस, त्यो तलाई याद छ कि छैन। तेरो खोलाका ढुङ्गामा अझै उस्तै लेउ त होला, कि तलाई पनि मान्छेले फोहोर बनाइसके। त्यो खोला किनरको बजारमा बिहानै दुध बोकेर बेच्न आउने मेरा आफन्तहरु, त्यो क्याल्टीको आवाज नसुनेको धेरै भयो, त अझै तेस्ताइ छस कि छैनस। त्यो दुधमा पानी कतिको मिसाउछन अचेल? त्यो आवाज बोक्दै त आईज।ए चराहरु हो, तिमीहरु यहाँबाट उड्दै उड्दै कुनै बेला मेरो गाउँमा पुग्योउ भने, त्यो डाडांमा बिस्कुन सुकाएको होला। मैले कुर्न भ्याइन तर त्यो नखानु। उनिहरुको बर्षभरी खानेकुरो हो है। डाडांमाथी बनमा चुत्रो पाक्यो होला, त्यो खाए हुन्छ तैले। तेस्को स्वाद बोकेर आईज है आउँदा खेरी।

अहिले त तल्लो पाटोमा पनि सुन्तला पक्यो होला, तेस्को बासना बोकेर आईज है आउँदा खेरी। गाउँ खाली छ रे, खेतीपती पनि सम्हाल्नु पर्छ, खोरिया गोड्नुपर्छ। म फर्केर चाडै आउछु भन्दे है मेरो गाउँलाई। अचेल गुलेली लिएर को हिड्लान र ढुकुर मार्न भनेर। मान्छे बन्दुक बोकेर हिंडेको बेला। ति बन्दुक बोक्नेहरुलाई शान्तीको शन्देश सुनाइदिनु, हुन त उनीहरु आँफै नै बुझ्ने खालका छन तैपनी। कान्छाको चियापसलमा उस्तै भीड त होला, राजनीतिको गफ जम्दै होला। तास पनि त जमेकै होला। अहिले त चाडबाड हो। बर्षभरी चाडबाड हुन्न है सम्झाइदिनु।अचेल त बिजुली पनि छ, पढ्न लेख्न गर्हो नहोला तर लोडशेडिङ त फेरी उही हो। त्यो जुनकिरीलाई भन्दिनु मेरा भाईबहिनीहरु पढ्न खोज्लान तैले उज्यालो पुर्याइदिनु। तल बजारमा खिर र चनाको भाउ फेरी बढ्यो कि क्या हो? सम्झाइदिनु है पैसा मात्र बढेर हुन्छ, भबिश्य हेर्नु पर्दैन। भोली पर्सी बजारमा खानै छोड्लान नि। अहिले त नयाँ उमेद्वारले जिते क्यार गाउँघरको बिचार गर्नु भन्दिनु। हुन त कानुन बनाउने ठुलो काममा लाग्याछन तै पनि गाउँ नभुल्नु भन्दिनु।

ए बादल त उड्दै उड्दै जा र सुखा लागेको बस्तिमा गएर बर्सीदे। कोशीतिर र उता पश्चिमतिर पुगिसक्योरे यसपाला राम्रो गरिनस रे सबैजन त सँग रिसाको छन। त त्यतातिर नजा है। त्यो मेरी मायालु फेरी छाता बोक्न छोडेर भिजि होली, उस्लाई भिजाउन तलाई पनि रमाइलो लाग्छ कि क्या हो। त्यो पानीको बुंद-बुंदमा मेरो स्पर्श लिएर जा है। उस्लाई भन्दे म उस्लाई लिन चाडै आउँदैछु। र आउँदा आउँदै मेरो बा-आमाले दशैको टिका मलाई लगाउन पाएनन तैपनी मलाई आशिश दिए होलान, त्यो लिएर आईज है, तेस्ले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ।

Sunday, October 5, 2008

साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
म बिदेशकै भाषा र भेशमा छु
म पैसा कमाउने रेशमा छु
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
म कहिलेकाही रिश र द्वेशमा छु
म सधै खुइलियको केशमा छु
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
र अहिले दशै छ
न यहाँको आकाशमा चङ्गा छ
न यहाँको सडकमा दङ्गा छ
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
यहाँको माटो मेरो होइन
यहाँ माटो कम जताततै बालुवा र गिटी छन
सडक-शहर जताततै राम्रा-राम्रा ठिटी छन
साथीहो, म बिदेशमा छु

साथीहो, म बिदेशमा छु
र अहिले दशै हो
यो रातो रङ,
असत्यमाथि सत्यको जीतको रङ हो
यो मालश्रीको गीतको रङ हो
यो हामी एक आपसको प्रीतको रङ हो

तेसैले हामी सबै दसैंको रङमा रमौ
सबैको निधारमा टिका र जमरा होस्
हात हातमा डिजिटल क्यामरा होस्
सबैको एक आपसमा मेल होस्
माया र पिरतिको भेल होस्
किनकी
साथीहो, म बिदेशमा छु