Monday, September 29, 2008

प्रचन्ड पुत्र, डलर र जनता

म देशको खबर सुनिरहेको/पढिरहेकोछु। म अहिले mysansar.com मा एउटा लेख पढ्दैछु। प्रधानमन्त्री प्रचन्डको अमेरिका भ्रमणको बारेमा थियो समाचार। कता कता माओवादीको समर्थनमा लेखिएको हो कि जस्तो तर नेपालीको चरित्र माथि बिश्लेसण गरिएको रहेछ। बिषय थियो बिदेश भ्रमणमा गरिएको खर्च र त्यसमा सामेल भएका ब्यक्तीको बारेमा। लेखले भन्छ नेपालमा भएको महान जनयुद्धमा ती ब्यक्तीका परिवारको योग्दान धेरै ठुलो भएकोले त्यो भ्रमणमा प्रचन्डको पुत्र रहनु ठीक भएको कुरालाई justify गर्न खोजिएको छ। लेखक Ascol पढ्दाखेरी कती ब्यक्ती आफ्नो पढाई छोडेर युद्धमा लागे,कती त शाहीद पनि भए। पढ्न पाएका भये ती ब्यक्ती पनि आज कुनै राम्रो ठाउँमा पढिरहेका वा जागिर खाइरहेको हुन्थे भन्ने कुरामा जोड दिईएको छ। हुन त बलेको आगो सबैले ताप्छन तर नेपालीहरु पनि आ-आफ्नो दुनो सोझो पार्नमै मस्त छन। ४६ अघि सबै पञ्च, त्यसपछी सबै कांग्रेस, तेसपछी एमाले, राजाको शासनमा सबै राजावादी र अहिले सबै माओवादी। गल्ती गरेको छ भने पनि बयान गर्ने। यो लेख पनि त्यस्कै निरन्तरता त होइन कतै, शंकापो लाग्छ त।

यो लेख त्यसको जवाफ भन्दा पनि मेरो ब्यक्तिगत बिचार हो। एक त यो माओवादीको शब्दमा यो महान जनयुद्ध, महान नै हो वा होइन त्यो भन्न सकिने बेला अहिले नै भईसक्यो जस्तो लाग्दैन मलाई त। हो यो जनयुद्धले एउटा काम भने अवश्य गर्‍यो, त्यो हो नेपालबाट राजतन्त्रको अन्त्य। अर्को कुरा यसले नेपाली समाजमा एउटा राजनीतिक चेतना भने अवश्य बढाएको हो। ससस्त्र युद्ध कतिको जरुरी थियो भन्ने नै एउटा प्रश्न छ। जहाँसम्म यो जनयुद्धमा लागेका ती युवाहरु जसले जीवन गुमाए, उनिहरु नरहनु अवश्य पनि देशको निम्ती घाटाको कुरा होला तर तिनिहरु यो युद्धकै बारेमा १६-१७ बर्षको उमेरमा त्यती जानकार थिए होलान भन्ने मलाई लाग्दैन। र अर्को कुरा यो युद्ध शुरु गर भनेर सबै जनताले आबहान गरेका पनि होइनन।नेपालीहरु हिंसा मन पराउन्नन। अहिलेको चुनावको नतिजालाई हेरेर यो जनयुद्धलाई जायज मान्न सकिन्छ जस्तो लाग्दैन मलाई। यसमा धेरै अंश त तेही हिंसाको बाटो अन्त होस् भन्नका लागि जनताले गरेको समर्थन जस्तो लाग्छ मलाई त।

हो बिदेशको यात्रा प्रधानमन्त्री जस्तो मान्छे जादा उनको श्रीमती पनि जानु यो सामान्य कुरा हो तर देशमा चलिरहेको जात्रा र धर्म सन्स्कृतिमा भने मित्ब्यता भनेर खर्च घटाइरहदा प्रधानमन्त्री पुत्र पनि जनताको पैसामा अमेरिका जानुलाई कतिको जायज मान्न सकिएला र। न त प्रचन्ड पुत्र माओवादीमा त्यस्को प्रभाव भएका ब्यक्ती हुन न त कुनै अरु कारणले उनलाई चिन्न सकिन्छ। घटना सामान्य होला तर देशले मुहार फेर्ने कुरा भईरहेको बेला यस्तै पारा हो भने त नयाँ भनिएको नेपाल पनि अहिलेकै भन्दा कुनै फरक महशुस गर्न पाइएला जस्तो छैन। नयाँ भनिएको नेपाल पनि पुरानो बोतलमा नयाँ रक्सी त होइन कतै? खोइ त नयाँ सरकारका मन्त्रीहरुको काम पनि कुनै सभा समारोहमा जाने, उद्घाटन गर्ने, दुई चार शब्द भाषण गर्ने अनी ५ बजेपछी कार्यालयबाट घर फर्कनु नै हो त? गर्न सकिने कुरा त गर्दैनन भने अब फेरी के आशा गर्ने? हो बरु पुत्र प्रचन्डलाई अमेरिका हेर्ने रहर लाग्यो भनेको भए भईहल्थियो नि, जनता पनि पो धेरै बुझ्ने पो भईसके त अचेल।

संबिधान बनाउनको लागि यो सरकार बनेको हो भन्ने कुरा पनि शायद बिर्सिसकेका हुन कि। न्यायलयमा भ्रस्टाचारको एउटा शब्दले तहल्का हुन्छ। मन्त्रीपरिशदका ब्यक्तीहरु फगत जागिर मात्र खाइरहेकाछन। र संसद स-साना कुरामा अल्झियर बन्द हुँदैछ। त्यस्तो देशको माया लाग्छ भने आँफै गर्न त भन्नेहरु पनि निस्कन्छन। सबै जनताले राजनीति गर्ने होइन, प्रजातान्त्रिक ब्यवस्था भनेको त जनताको प्रतिनिधिले शासन गर्ने ब्यबस्था हो तर शासन गर्ने नै असक्षम भएपछी कसबाट आश गर्ने खोइ। जनताले पनि के गर्न सक्छन र हेर्नु जतिको शासन हेरिसकियो अब त यिनिहरुको घैटोमा घाम लागोस भन्ने त होला नि। अब आशा पनि यिनै माथि गर्नुपर्ने छ, अरु गर्न पनि के नै सकिन्छ र?

Friday, September 26, 2008

स्वप्न-सुन्दरी

गुलाबी अधर बन्द छ आँखाको पलक बोल्दो छ
खुल्ला केशले त्यो मुहार खुले जस्तो लाग्यो

मुस्कान मन्द छ गालामा हल्का लाली छ
बोलीसङगै संगीतको सुर मिले जस्तो लाग्यो

बारुले कम्मर छ सिंहको जस्तो चाल छ
जुनको टुक्रा धरतीमै खसे जस्तो लाग्यो

नशालु आँखा छन निर्दोश हेराइ छ
नजरको बिशको प्यालाले माते जस्तो लाग्यो

तिमी पनि चुप छौ म पनि चुप छु
मनै मनले केही कुरा बोले जस्तो लाग्यो

शब्द-शब्दले आज गीत गुन्जाउदै छ
मनका कुरा हामीले खोले जस्तो लाग्यो

भो! लुकामारी नखेल आउ अब यथार्थमा
सपनाको संसारमा भुले जस्तो लाग्यो

Thursday, September 18, 2008

निरर्थक सोचाइ

म अहिले एउटा गीत सुनिरहेकोछु। मलाई कुनै बेला आँफै देखि अचम्म लाग्छ। यो गीत सुन्दासुन्दै म आफु नै यो गीतको गायकजस्तो महसुस गर्न थाल्छु।म गीतको शब्दमा ध्यान दिन्छु, मलाई लाग्छ यतिको त म पनि लेख्न सक्छु नि, अझ राम्रो हुन सक्थ्यो नि गीत जस्तो पनि लाग्छ। म साथी भाईको जमघटमा गीत पनि गुन्गुनाउछु, उनीहरु तारिफ गर्छन्। म ठान्दछु म राम्रो गाउछु, तर गहिरिएर सोच्दै जाँदा न ममा संगीतको ज्ञान छ, न त स्वर नै त्यस्तो राम्रो छ। तर पनि मन भित्र कता कता त्यो लुकेर रहेको हुदो हो। म घरी गितार सिक्ने लहडमा हुन्छु तेसै कारणले। सोचे जस्तो सिक्न सक्तिन, लाग्छ यो मेरो क्षेत्र होइन।

म फिल्म हेरिरहेको हुन्छु, मलाई लाग्न थाल्छ यो नायकले त अभिनय नै गर्न जान्दोरहेनछ। यतिको त म नायक भएको पनि गरिहाल्थे जस्तो। हुन त ममा कुनै पनि नायक बन्ने सम्भावना छैन, न त ममा त्यो कला नै छ न त मेरो सुन्दरता पनि फिल्ममा सुहाउदोछ। तर पनि म कल्पिन पुग्छु। म नायक भन्दा पनि निर्दैशकिय क्षमतातिर सोच्न थाल्छु। यतिको पो गरेको भए राम्रो हुन्थ्यो कि। फेरि कसैले वृतचित्र बनायो भने म पनि त बनाउन सक्छु नि जस्तो लाग्छ; र घरि घरि कसैको गीतको भिडियो बनाएको कल्पिन थाल्छु।

टिभीमा कार्यक्रम हेर्छु, रेडियो सुन्छु। मलाई लाग्छ कार्यक्रम चलाउन पो सजिलो होला। रेडियोमा बोल्न पनि पाइने र चर्चा पनि पाइने, म कल्पिन थाल्छु। म प्रस्तोता भएको भए यस्तो कार्यक्रम हुन्थ्यो होला। म रमाउन थाल्छु। स्कुलतिर कार्यक्रम हुँदा म अगाडि मन्चमा गएर कार्यक्रम चलाएको सम्झन्छु। कल्पिन्छु म यो रेडियोमा भए यस्तो कार्यक्रम चलाउथें।

म उपन्यासहरु पढ्न थाल्छु, म दर्शन पढ्न थाल्छु, वेद खोतल्न थाल्छु। म पत्रिकाहरु पढ्न थाल्छु। खगेन्द्र सङ्रौलाका गालीहरु पढ्छु, किशोर नेपालका तालीहरु पढ्छु। कान्तिपुर पढ्छु, हिमाल पढ्छु अनि सोच्छु म त लेखक पो राम्रो हुन्छु कि क्या हो।


थाहा छैन यो के हो। शायद सबैको आ-आफ्नो क्षेत्र हुन्छ। र मनिसले त्यहि क्षेत्र रोज्नु पर्छ जुनमा उसलाई लागोस कि केही गर्न सकिन्छ। मेरो पनि आफ्नै क्षेत्र छ। म मेरो क्षेत्रमा ठिकै छु। कसैले एकदमै राम्रो देख्लान कसैले नराम्रो तर मेरो बिचारमा म केही हदसम्म सफल नै छु। तर पनि किन हो यस्ता कल्पना आइरहन्छन। ति अरु पेशामा लाग्नेहरु पनि यस्तै त सोच्दा होलान। म अब यही क्षेत्रमा लागेँ भन्ने थाहा भईसक्यो मलाई तर पनि समय-समयमा यस्तो सोचाइ किन आईरहन्छ कुन्नी। हुन त कुनै किताबमा लेखिएको छ मान्छेलाई  आफुसँग भएका प्रतिभाको बारेमा ज्ञान नै नभैकन पनि मृत्‍यु भईसकेको हुन्छ रे। के थाहा को सँग के प्रतिभा छ। मान्छे जुन क्षेत्रमा लाग्छ के नै जरुरी छ र त्यो उ त्यसमा रहरले नै लागेको होस्। शायद यस्तै-यस्तै कुरा हुँदो हो जहिले पनि यस्ता कुराहरु खट्किरहेको हुन्छ। के थाहा देवकोटाले भनेजस्तै नेपालमा शेक्सपियर हलो पो जोतिरहेको छ कि। कसले चिन्ने हाम्रा दिदी बहिनिले घास काट्न जाँदा गाएका गीतहरु तारा देवीको भन्दा पनि उत्कृष्टपो छन् कि।

त्यहि भएर म पनि दिवा-स्वप्न देख्छु कहिलेकाहीँ। मलाई लाग्दो छ कि ममा पनि कुनै गुण लुकेर बसेको छ। यो लेख पनि तेसकै निरन्तरता न हो। कुनै दिन लाग्छ यो पनि पढ्न लायक छैन, त्यो दिनबाट यो पनि बन्द हुन्छ। म फिल्म सँगै निर्देशक हुन्छु, म लेख सँगै लेखक हुन्छु, म टिभी सँगै संचालक हुन्छु, म शब्द सँगै कवि हुन्छु, म आलोचना सँगै समिक्षक हुन्छु। म क्रिकेट सँगै अलराउन्डर हुन्छु, म फुट्बल सँगै प्लेमेकर हुन्छु। म चलचित्रको नायक हुन्छु, म सूर बिना नै गायक हुन्छु। म पैसा बिना नै ब्यापारी हुन्छु। म राजनीति बिना नै नेता हुन्छु। म भाषण गर्दै हुन्छु, म रासन बाँड्दै हुन्छु। म एकान्तमा हुँदा जोगी हुन्छु। म सुन्दरीहरुको माझ भोगी हुन्छु। हो, म यस्तै यस्तै हुन्छु।

Saturday, September 13, 2008

गजल

तिम्रो माया मेरो माया जोड्ने एउटा पुल थियो
तेसमै जीवन बित्ला भन्नु मेरो कस्तो भुल थियो

तिमीलाई भेट्न भनी तिम्रो घरमा गएँ
त्यहा देखें थुप्रै थुप्रै मनिसको हुल थियो

भिडभाड छिचोल्दै गएँ तिमी कहाँ छौ भनी
त्यहा त मैले देखें शुभ विवाहको तुल थियो

गीत तिम्रो भाका मेरो, आँखा तिम्रो नजर मेरो
ती बाचा भन्दा उच्च त घराना र कुल थियो

धन सम्पत्ति दुई दिनको हो तिमीले नबुझे पनि
मेरो मन त आखिर माया प्रेमको मुल थियो

एक्लै जिउनु एक्लै मर्नु हो भने साथ नै किन चाहियो र
हिलोमा पनि फुलिदिने यो त कमल फुल थियो

( सिर्जनाको हिसाबले यो कुनै गतिलो रचना त नहोला तर मैले गजलको नियममा रहेर लेख्न खोजेको हुँ )

Friday, September 12, 2008

मेरो गीत मेरै प्रतिबिम्ब होइन...

मेरो गीत मेरै प्रतिबिम्ब होइन
जो फुटी जाने होइन, जो टुटी जाने होइन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना होइन

केही गुङुनाउछु धेरै शान्ती पाउछु
केही शान्ती बाट्न यहाँ गीत सुनाउछु
म ल्याउछु सगरबाट अन्जुलीमा पानी
एक एक बुदले सबको प्यास मेट्न खोज्छु
सबैलाई रिझाउने मेरो गीत होइन
तिमीले नसुन्दैमा गीत मर्ने होइन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना होइन

गीत चोरी ल्याए सागर बाट
आकाशको नीलो गहिराइबाट
सुनी हेर सबमा गीतको मुहान छ
यहाँ जिउदोलाई श्वास फेर्न जही तही हावा छ
मेरो गीत भन्ने अधिकार छैन
गीतको पो म हुँ मेरो गीत होइन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना होइन


म आज शब्दलाई ध्यान दिएर गीत सुन्दैछु। यो गीत म गुनगुनाइ रहने गीत हो तर मैले यसको शब्दमा तेती ध्यान दिएको रहेनछु। म मा यो क्षमता त छैन कि यो गीत माथि म समिक्षा गर्न सकु, तर मैले सुन्दा लागेको कुराहरु लेख्ने प्रयास हो यो। म ल्याउछु सगरबाट अन्जुलीमा पानी एक एक बुदले सबको प्यास मेट्न खोज्छु। सबैको प्यास मेट्न खोज्नु त असल कुरा हो तर चाहना हुँदैमा मात्र कहा हुन्छ र। सबैलाई रिझाउन कहाँ सकिन्छ र त्यो प्रयास पनि होइन तर तिमी त एक मात्र न होउ, तिमीले नसुन्दैमा पनि कहा यो गीत मर्छ र। मनिस पो दुई दिनको पाहुना हो त, उसको गीत त होइन नि। सब कविहरुका गीत रचना अझै पढ्दैछौ नि हामी अझै। लाग्छ कतै हाम्रै लागि त लेखेको होइन।

यो गीत त सागरबाट आएको हो, आकाशको नीलो गहिराइबाट आएको हो। यहाँ जहाँतही गीत नै गीत छ। खोलको कल्कल, चराको चिर्बिर सबमा गीत त छ। फरक यती हो कि पारखीले मात्र त्यो बुझ्न सक्ला। तेसैले यो गीत कसैको भन्ने अधिकार छैन, हामी पो यो गीतका हिस्सा होउ त। तेसैले नारायण गोपाल फेरी गुनगुनाउन थालछन "मेरो गीत मेरै प्रतिबिम्ब होइन...."।

Saturday, September 6, 2008

म प्रेसिडेन्ट हुँदा...

मलाई थाहा छैन यो औधी खुशीको कुरा हो कि ठिकै कुरा हो या निराशाको कुरा हो। तर जे भए पनि यो मेरो जीवनको एउटा नौलो अनुभवको कुरा चै हो। म नेपाली समाजको समाजको प्रेसिडेन्ट हुन पुगे। मैले जीवनको कुनै पनि मोडमा यस्तो कल्पना पनि गरेको थिईन कि म कुनै संस्थामा अगाडि बसेर काम गरौला। मनिसहरुको जमातमा रमेर ठट्टा गरेपनि म प्राय एकान्तमै रमाउने गर्छु। हुन त सबै मनिसको सबै सँग कुरा मिल्छ भन्ने त छैन। एउटै खाटमा सँगै रात बिताउने श्रीमान र श्रीमतीको त सधैं कुरा मिल्दैन भने अरुको मिल्न पर्छनै भन्ने पनि त केही छैन नि। तर समाज त समाज नै हो नि, सबैको सबै कुरामा कहाँ सहमती हुन्छ र। सबै बिमति भित्र पनि सहमती को प्रयास त हो शायद नेत्रित्वले गर्ने।

लेख्न खोज्दै थिए एउटा कुरा, अन्तै तिर पो पुग्न थालेछु। आज पुरानो कमिटीले नयाँलाई हस्तान्तरण गर्ने दिन थियो। सबै साथीहरु उत्साहित थिए। तर उत्साह र उमङगकै बिचबाट एउटा नरमाइलो पनि महसुश भयो। साधारण कुरालाई लिएर भएको एउटा विवादले चर्कै रुप लिन पुग्यो। मान्छे ब्यक्तीगत कुरामा पनि पुगेर गाली गर्न तिर लागे। म सोच्न थाले यस्तै हो भने त काम गर्न त गर्हो पो होला कि। नेपाली समाज जहाँ सुकै पुगे पनि नेपालको सन्स्कार चै भुल्दो रहेनछ। चाहे त्यो राम्रो होस् या नराम्रो। नेपालीहरु बिकसित मुलुकमा रहेर पनि मानसिकता चै बिकसित हुन सकेनछ जस्तो लाग्यो। सोचे यिनै मनिसहरु भोली बिदेशबाट सिकेर आएको कुरा, सिप लिएर नेपाल गए भने त देश त आखिर के नै परिवर्तन होला र। अर्को कुरा नेपालीहरुमा लोकतन्त्र भन्दा भन्दै यती राजनीतिले प्रवेश पाइसकेछ कि एउटा संस्थाले गर्ने काममा समेत राजनीति घुस्न थालेछ। हामी बिदेशमा छौ। सबै मिलेर चाडपर्बहरु मनाऔं, दु:ख सुखका कुराहरु साटौ,र आफ्नो सन्स्कृतिलाई पनि जोगाऔ भन्ने न उदेश्य हो। यस्मा त्यस्तो बिबाद केही आउनु पर्छ भन्ने त देखिदैन। तर के भन्ने भने जस्तो नहुने रहेछ। नेपालीहरु धेरै पैसामुखी मात्र पो भएका हुन कि के हो।

कुनै एउटा क्षणमा त यस्तो पनि लाग्यो म नेपालबाट बाहिर छैन। एक जना अर्कोको कुरा काट्नमा ब्यस्त छ। म नेपालमा जुन कुरा देखी डराएर बिदेश भागेको थिए, यहाँ पनि तेही कुराको पुनराव्रिती नहोस् भन्ने मात्रै चाहना हो। बिदेश भागेको भन्दा पनि आएको भन्नु पर्ला। मैले आएको अवसरलाई नछोडेको मात्रै हो, पढ्ने चाहना त्यो पनि बिदेशमा छात्रब्रिती पाएपछी। म सरकारी जागिर खान्थे, चिया सँगै यस्तै गफअरु हुन्थे। फलानो त ट्रेनिङमा पर्‍यो, फलानो हाकिम नराम्रो, यस्तै यस्तै। बिस्तारै बिस्तारै म पनि त्यस्तो कुरामा रमाउन थालीसकेको थिए। पछी म बरु ईन्टरनेटमा बसेर किताब पढेर बस्न थाले,ती कुराहरुमा तेती चासो दिन छोडे। तर तेसो भनेर गफनै नगर्ने भन्ने त होइन, तर सिमित र आवश्यक मात्रै। यहाँ आएर पनि फेरी तेही नदोहोरिउन भन्ने चाहना हो। तर सबै आफ्नो बसमा कहाँ हुन्छ र।

आखिर जे जस्तो विवाद आए पनि अन्तमा त टुङगो लाग्यो। म पनि पहिलो चोटि प्रेसिडेन्ट भए। भलै त्यो रामबरण यादवको जस्तो जोड घटाऊ र गणितको खेल थिएन र त्यस्तो उत्साह पनि थिएन। म आफ्नै बारेमा भन्दा म कुनै पनि समुहमा हुँदा नेता हुने क्षमता त म मा थिएन तर हुने कुनै निर्णयमा मेरो बिचार र प्रस्तावले पनि भूमिका चै खेल्थियो। कतीपए बेलामा मलाई साथीहरुले त मा त managerमा हुने जस्तो गुनहरु छ भन्थे म फुर्किन्थे बस तेही हो। कतीपय बेलामा भने राम्रै मान्छेहरुले पनि तपाईं ठुलो मान्छे बन्नुहुन्छ भनेर भन्थे। मैले यो संस्थामा बसेर नै म ठुलो मान्छे बन्छु भन्न खोजेको त होइन तर मलाई अचानक ति कुराहरु याद आउन थाले। के थाहा म मा तेस्तै क्षमता देखेर पो साथीहरुले प्रेसिडेन्ट बन पो भनेका हुन कि। सोचे मेरो लागि पनि यो एउटा चुनौती नै हो नि। यदी म यसमा सफल भए भने मेरो लागि र यो समाजको लागि पनि राम्रै हुन्छ नि। म र यो समाजको सफलता भन्नु नै यो बिदेशको भुमीमा हाम्रो देशको सफलता होइन र? यस्तै सोचे र खुशी पनि लाग्यो। भन्छन नि अधिकार र कर्तब्य सँगसगै आउछन। तेही भएर चुनौती पनि छ। यदी कुनै काममा चुनौती नै छैन भने त्यो कामको अर्थ पनि के नै रह्यो र होइन? जीवनको मजा नै तेस्मा छ नि।

Wednesday, September 3, 2008

खोज

उताबाट यता त्यहाबाट यहाँ
दौडेको होइन भागेको छैन
जोगी हुने चाहना छैन
लुक्ने कुनै बहाना होइन

एकान्त रात छ
जूनको उज्यालो छ
घामको पर्खाइ छ
तारालाई छुने चाहना छैन
कवि हुने बहाना होइन

भङालिएको मन छ
अङालिने चाहना छ
दौतरिको साथ छ
भौतारिने बहाना छ

पाइला अघि बढ्दो छ
क्षितिज अझै टाढा छ
शिखर चुम्ने चाहना छ
बाच्ने एउटा बहाना छ

आँखामा निद्रा छैन
सुन्दर स्वप्नको चाहना छ
प्रचुर थकाईको बहाना छ
सुनौलो घामको किरण सँगै
फेरी हुन्छ रोज शुरु
एउटा नयाँ खोज सुरु