Thursday, September 18, 2008

निरर्थक सोचाइ

म अहिले एउटा गीत सुनिरहेकोछु। मलाई कुनै बेला आँफै देखि अचम्म लाग्छ। यो गीत सुन्दासुन्दै म आफु नै यो गीतको गायकजस्तो महसुस गर्न थाल्छु।म गीतको शब्दमा ध्यान दिन्छु, मलाई लाग्छ यतिको त म पनि लेख्न सक्छु नि, अझ राम्रो हुन सक्थियो नि गीत जस्तो पनि लाग्छ। म साथी भाईको जमघटमा गीत पनि गुङुनाउछु, उनिहरु तारिफ गर्छन्। म ठान्दछु म राम्रो गाउछु,तर गहिरिएर सोच्दै जादा न म मा संगीतको ज्ञान छ, न त स्वर नै त्यस्तो राम्रो छ। तर पनि मन भित्र कता कता त्यो लुकेर रहेको हुदो हो। म घरी गितार सिक्ने लहडमा हुन्छु,तेसै कारणले। सोचे जस्तो सिक्न सक्तिन लाग्छ यो मेरो क्षेत्र होइन।

म फिल्म हेरिरहेको हुन्छु, मलाई लाग्न थाल्छ यो नायकले त अभिनय नै गर्न जान्दोरहेनछ। यतिको त म नायक भएको पनि गरिहाल्थे जस्तो। हुन त म मा कुनै पनि नायक बन्ने सम्भावना छैन, न त म मा त्यो कला नै छ न मेरो सुन्दरता पनि फिल्ममा सुहाउदोछ । तर पनि म कल्पिन पुग्छु। म नायक भन्दा पनि निर्दैशकिय क्षमतातिर सोच्न थाल्छु। यतिको गरेको भए राम्रो हुन्थियो कि। फेरी कसैले व्रीतचित्र बनायो भने म त बनाउन सक्छु नि जस्तो लाग्छ; घरी कसैको गीतको भिडियो बनाएको कल्पिन थाल्छु।

टिभीमा कार्यक्रम हेर्छु, रेडियो सुन्छु। मलाई लाग्छ कार्यक्रम चलाउन पो सजिलो होला। रेडियोमा बोल्न पनि पाइने चर्चा पनि पाइने, म कल्पिन थाल्छु। म प्रस्तोता भएको भए यस्तो कार्यक्रम हुन्थियो होला। म रमाउन थाल्छु। स्कुलतिर कार्यक्रम हुँदा म अगाडि गएर कार्यक्रम चलाएको सम्झन्छु। कल्पिन्छु म यो रेडियोमा यस्तो कार्यक्रम चलाउथें।

पत्रिका पढ्न थाल्छु। खगेन्द्र सङ्रौलाका लेखहरु पद्छु। कान्तिपुर पढ्छु, हिमाल पढ्छु अनी सोच्छु म त लेखक पो राम्रो हुन्छु कि क्या हो।


थाहा छैन यो के हो। शायद सबैको आ-आफ्नो क्षेत्र हुन्छ। र मनिसले तेही क्षेत्र रोज्नु पर्छ जुनमा उस्लाई लागोस कि केही गर्न सकिन्छ। मेरो पनि आफ्नै क्षेत्र छ। म मेरो क्षेत्रमा ठिकै छु। कसैले एकदमै राम्रो देख्लान कसैले नराम्रो तर मेरो बिचारमा म केही हदसम्म सफल नै छु। तर पनि किन हो यस्ता कल्पना आइरहन्छन। ति अरु पेशामा लाग्नेहरु पनि यस्तै त सोच्दा होलान। म अब यही क्षेत्रमा लागे भन्ने थाहा भईसक्यो मलाई तर पनि किन समय समयमा यस्तो सोचाइ आईरहन्छ कुन्नी। हुन त कुनै किताबमा लेखियको छ मान्छे आफुसँग भएका प्रतिभाको बारेमा ज्ञान नै नभैकन पनि मृत्‍यु भईसकेको हुन्छ रे। के थाहा को सँग के प्रतिभा छ। मान्छे जुन क्षेत्रमा लाग्छ के जरुरी छ र त्यो उस्ले रहरले नै लागेको होस्। शायद यस्तै-यस्तै कुरा हुदो हो जहिले पनि यस्ता कुराहरु खड्कीरहेको हुन्छ। के थाहा देवकोटाले भनेजस्तै नेपालमा शेक्सपियर हलो पो जोतिरहेको छ कि। कस्ले चिन्ने हाम्रा दिदी बहिनिले घास काट्न जादा गाएका गीतहरु तारा देवीको भन्दा पनि उत्कृष्टपो छ कि।

तेही भएर म पनि दिवा स्वप्न देख्छु कहिलेकही। मलाई लाग्दो छ कि म मा पनि कुनै गुण लुकेर बसेको छ। यो लेखै पनि तेस्तैकै निरन्तरता न हो। कुनै दिन लाग्छ यो पनि पढ्न लायक छैन त्यो दिनबाट यो पनि बन्द हुन्छ। म गीत सँगै गायक हुन्छु, म फिल्म सँगै निर्देशक हुन्छु, म लेख सँगै लेखक हुन्छु,टिभी सँगै संचालक हुन्छु र कहिले शब्द सँगै कवि हुन्छु र आलोचना सँगै समिक्षक हुन्छु। म क्रीकेट सँगै अलराउन्डर हुन्छु, फुट्बल सँगै प्लेमेकर हुन्छु, म पैसा बिना नै ब्यापारी हुन्छु। म चलचित्रको नायक हुन्छु। म राजनीति बिना नै नेता हुन्छु। म भाषण गर्दै हुन्छु। म एकान्तमा हुँदा जोगी हुन्छु। म सुन्दरिहरुको माझ भोगी हुन्छु। म यस्तै यस्तै हुन्छु।

1 comments:

  1. its called.. life...its called mind..

    its like what lies in you.. more than an engineer.. ability to think.. ability to see beyond what you see, listen beyond what you hear.. read beyond what is typed...

    राम्रो एबस्ट्याक्ट झिकौ यार । लेख्दै गर

    ReplyDelete