Monday, November 16, 2009

प्रसन्नता

"सुनन मेरो एउटा काम गरिदिन्छौ?" फोनमा उही परिचित आवाज आयो । "भनन तिमीले भनेको के कुरा मैले नाइँ भनेको छु र, म जवाफ दिन्छु ।"

"हेर न मेरो भाई हृदय छ नि, तेसलाइ अमेरिका जान पर्यो रे । मैले अहिले भर्खर त +2 सिद्धियो, के हतार भो र, Bachelor यतै complete गर अनि गए भैहाल्यो नि भन्छु मान्दै मान्दैन। अहिले उता गएर त गार्हो हुन्छ नि पढ्न पनि काम पनि गर्न भनेको । बुवा आमाको कुरा त झन कहिले पो सुन्थियो र तेसले अहिले सुनोस, at least तिम्रो कुरा त सुन्छ नि, एकचोटी सम्झाईदेउ न । झन अस्ति भिनाजु चाहिँले सम्झाउनु भएको, रिसाएर गयो खानै नखाइकन ।संगत पनि तेती गतिलो छैन तेसको, खाली Guitar बोकेर हिड्छ, पढाईमा ध्यान दिने होइन भन्यो भने उल्टै रिसाइदिन्छ ।"

उ फोनमा बोल्दैछे, म हिजोको कुरा सम्झदैछु ।हिजो हृदय मेरोमा आएको थियो ।आउन त उ Guitar सिक्न भनेर आएको थियो, तर कुरा भने यही बारेमा गर्न आएको थियो ।मैले उसलाई चिनेको सानै बेला देखि हो ।उसको दिदि र म संगै पढेको school र college पनि । बाउ आमा अलि कडा स्वभावको, दिदिलाइ सबै कुरा भन्न नमिल्ने, म senior भएपनि सबै कुरा share गर्थ्यो ।Guitar पनि मेरै संगतले नै हो सिकेको तर अहिले त म भन्दा कति को कति राम्रो बजाउछ, band पनि छ साथीहरुको उसको । भर्खर +2 मात्र सिद्धिएको भए पनि उसमा किताब देखि बाहेकको कुराहरुमा तेतिकै चाख छ। चाहे movie को कुरा होस्, चाहे literature को कुरा होस् वा चाहे politics को कुरा होस् सबैमा राम्रो बहस गर्न सक्छ उ। ए अर्को main कुरा म उसको दिदिलाइ मन पराउथे भन्ने कुरा थाहा पाउने एउटा मान्छे हो उ पनि । हुन त ती कुराले यहाँ केहि अर्थ राख्दैनन् । तपाइको जिन्दगीमा यस्तो तालले कसैसंग कहिले पनि love पर्दैन बुझ्नुभो, भनेर जिस्काइरहन्छ अझै पनि। उसको दिदिको छोरो भैसक्यो अहिले त, अस्ति पास्नीम त निम्तो पनि आको थियो। तपाइको भान्जोको पास्नीको निम्तो छ भनेर घोचपेच गर्दैथियो। जाने मन नै भएन। अस्ति किन नआएको नि तिमि भनेर सोध्दैथी उसले पनि , office को काम भनेर झुटो बोलियो।

अब विदेश जान्छु म त भन्दैथियो घरमा सम्झिदिनु पर्यो। उ independent हुन चाहन्छ रे।यता pocket money को लागि दिन दिने बाउआमा संग पैसा मागेर पढ्नु भन्दा त आफैले दुख गरेर पढेको राम्रो हो नि होइन र भन्दै थियो। नेपालमा पढ्न पनि महँगो नै छ, तेसमा 2-3 laakhs extra खर्च गर्यो भने त उतै राम्रो पढाई मिल्छ भने किन यता पढ्ने भन्दैथियो। मैले पनि example दिने कोशिस गरे, हामीले पनि त यतै पढेको हो नि, at least bachelor त complete गरे हुन्छ नि यतै भने। पछी पनि जानु नै छ भने अहिले गयो भने उतैको degree हुन्छ झन job को probability बढ्छ नि होइन भन्दैथियो। फेरी तपाइको पनि नेपालमा यति दुख गर्नुहुन्छ तेही survive गर्ने त जति पैसा हुने त हो भन्दैथियो। एकैचोटीमा कहाँ ठुलो कुरा पाइन्छ र, अलि बर्ष पछी experience बढेपछी त राम्रो होला नि। म सम्झाउने प्रयत्न गर्छु।मलाइ थाहा भैसक्यो म उसलाई सम्झाउन सक्तिन।म आफै पनि यहाँको मान्छेको सोचाई, काम गर्ने तौर तरिका, कामको मुल्यांकन गर्ने तरिका देखेर एक प्रकारले बिरक्त भइसकेको छु। तेही हो एउटा राम्रो अवसरको खोजीमा छु जसले यहाँबाट उम्कने बहाना मिलोस। उसले मलाई example ठान्ला, त्यो त पलायन भएको देख्यो भने के सोच्ला तेही भएर धेरै सम्झाउने प्रयास पनि गरिन।" हेर्नुस नेपालको political condition मा अहिले कुनै राम्रो positive symptoms हरु केहि देखेको छैन, म त determined छु जाने कुरामा, घरमा एकचोटी आएर सम्झाइदिनु पर्यो।अर्को important कुरा मेरो girl friend पनि जान्छु भन्दैछ, म यता उ चाही उता अनि मेरो पनि तपाईकै हालत हुन्छ है दाई बुझ्दिनु पर्यो। तपाई त हुनुहुन्छ मेरो अलिकति कुरा बुझ्ने मान्छे।"

"ए सुनन, कता हरायौ, बोल्ने छाड्यौ त", म त फोनमै उसको कुरा सोच्न थालेछु। हुन्छ म सम्झाउने try त गर्छु तर नेपालमा बसेर पनि के नै हुन्छ र, राजनीति कहिले राम्रो हुने भएन, काम गर्ने environment पनि छैन, यहाँ बसिराकोहरु त जान खोज्दैछन, जान खोज्छ भने जान दिए भैगो नि, म सुझाव दिन्छु।" तिमिले झन् सम्झाउछौ होला भनेको त तिमि पनि उसकै जस्तो भाषा बोल्दैछु त!" "होइन, मैले त यसै आफ्नो विचार भनेको नि। "यहाँ पनि त अवसरहरु छन् नि, राम्रो काम गर्नेले गरिराखेकै छन् त।सधै तेस्तो त अवस्था हुदैन नि, political condition पनि बिस्तारै stable भैहाल्छ नि। मेरो श्रीमानकै हेरन, कमाई पनि राम्रै छ, आफ्नै देशमा बसेर राम्रो काम गर्न सकिन्छ भने किन कोशिश नगर्ने! सबै जना हामफालेर विदेशकै पछी लागेका छन्, के हो के म त बुझ्ने सक्तिन खै।" हुन्छ म भोलि तिम्रो घरमा आउछु अनि कुरा गरौला भनेर फोन राख्छु म।

उसको घरमा जान्छु र सम्झाउन खोजेको प्रयास गर्छु, उसले अनुरोध जो गरिसकी। फेरी भाईले पनि घर आएर सम्झाइदिनु भनेको छ, म कुरो घुमाएर जाँदा पनि राम्रै हुन्छ भन्ने तिर मोड्न खोज्छु।

म उसको अनुहारमा एक टकले हेर्न थाल्छु, उसको नेपाल बाहिर नजाने विचार कहिले पनि। आफु पढाई सिद्धिनासाथ् अमेरिकाको चक्करमा। न त कवाड american ambassy ले visa दियो न त तिमीलाई नै पाएँ।तिम्रो बुझ्न नसकेको स्वदेश प्रेम र मेरो हुन नसकेको अमेरिका यात्रामा मेरो प्रेम कता को कता मर्न पुग्यो। म यस्तै कथा फेरी दोहोरिओस भन्ने चाहन्न, त्यो भने पक्कै हो। अन्तमा म उसको toefl registration को लागि बुवालाइ convince गराउन सफल हुन्छु म। उ रिसाएको भावमा मलाई हेरिरहन्छे, म ठुलै युद्ध जितेको जस्तो खुशी महशुस गर्न थाल्छु।

Monday, October 26, 2009

हनुमान र पाण्डवहरु

वानर सेना साथमा लिइ
वनवास बाट फर्केर आए
मर्यादाविहिन रामहरु
शहरमा स्वागत द्वार बनाइ
कुर्दैछन सारा हनुमानहरु

आँखा भएको ध्रितरास्ट्र सामु
द्रोपदीको सारी तान्दैछन
बलवान दुर्योधनहरु
निर्लज्ज भै बसेर
हेर्दैछन् सारा पाण्डवहरु

Monday, September 28, 2009

नाक

आँखाको मुनि र मुखको माथिको भागको नाम नै नाक हो। नाकको कुरा कताबाट आयो भन्ने सोच्नुहोला फेरी। के गर्ने सबैजना यहि नाकको लागि काम गर्दैछन। राम्रो र नराम्रो सबै कामकुरा यहि नाकले नै नियन्त्रण त गर्छ नि। आज नाकको बारेमा लेख्न मन लाग्यो, मनै त हो जे पनि त सोच्न सक्छ नि। भैरव अर्यालले टाउको लेखे, म पनि के कम तर तेही त दोहोराउनु भएन, कि तेस्को हाराहारीमा लेख्ने आँट हुन पर्यो। होइन भने बिषय परिवर्तन गर्यो आनन्द।

साँचै नाक भएन भने के होला त। पहिलो कुरा त सिंगान आउदैन, झन्झटै साफ। हुनत नाकले हावामा भएका फोहोरहरु छान्ने भएर नै सिंगान आउने हो। तर पनि रुघा लागेको बेलामा सिंगान पुछेर हैरान भइने, नाकनै नभए त ढुक्कै भयो नि। तर आफ्नो भने अलिकति अप्ठेरो पर्ने जस्तो छ। चस्मा लगाउनु पर्ने नाक भएन भने त कसरि अड्याउने मुश्किल पो हुन्छ त। हुन त अचेल लेन्सको जमाना आइसक्यो तर पनि म त अन्धो नै पो हुन्छु त। फेरी नाकमा फुली र अरु गहना लगाउनेहरुले कति गालि गर्दा हुन् भगवानलाइ। उसमाथि आफु त बाहुन हो परियो; नाकले नै पहिचान गराउछ। थेप्चे नाक भएका सब अरु जाति, चुच्चा नाक जति बाहुन छेत्री। फेरी कुनै जातजाति माथि भेदभाव राखेर भनिएको भने होइन है।

नाकको शारीरिक मात्र महत्व होइन है हाम्रो त नाकसंग संस्कृतिक र अरु पनि मूल्य जोडिएको पो छ त। जस्तै फलानाको नाक काटियो भन्नुको मतलब तेस्को इज्जत नै गयो भनिन्छ नि। यो नाक काटिनु र इज्जत जानु चै रामायणकै कथासंग जोडिएको हुनुपर्छ। किनभने रावणको बहिनीको नाक लक्ष्मणले काट्नालेनै रामायणको युद्ध शुरु भयो। भनेपछी नाकको लडाई आजको मात्र होइन यो त हाम्रो पुर्खौ पुर्खादेखि चल्दै आएको कुरा हो। नाकको मुनि जुँगाको स्थान हुने भएकोले नाक भएन भने जुँगाको पनि खासै महत्व हुदैन। किनभने नाकबिनाको जुँगाको कुनै अस्तित्व छैन; जुँगाको काम मै नाकलाइ underline गर्नु त हो ।

नाक काटिनु नराम्रो कुरा भएकोले नै नाक जोगाउन सबैजना लागि पर्छन। यहि नाकको लडाई नै अहिलेको संसारको प्रमुख लडाई हो; मुख्य शत्रु र मित्र कोहि हुदैनन। कसैलाइ आफ्नो जातिको नाक जोगाउनुछ; कसैलाई आफ्नो देशको नाक जोगाउनुछ; कसैलाई आफ्नो बाउबाजेको नाक जोगाउन भन्दै टन्न खर्च गरेर नाक जोगाउनुछ; घरमा दुखी भएपनि बाहिर हासेर र खर्च गरेर नाक जोगाउनुछ ; कसैलाई आफ्नो पार्टीको नाक जोगाउनुछ। म आफै पनि नाक जोगाउने अभियानमा छु। लेख्न नजान्दा नजाँदै पनि लेख्न खोजियो; केहि साथीहरुले मन पराए तेसपछी लेख्न खोज्छु राम्रो भने हुने होइन। तैपनि नाक त जोगाउनै पर्यो; तेही भएर यो लेख पनि लेख्न थालियो।

Sunday, September 13, 2009

१२ सेप्टेम्बर, २००९

हिजोको दिन संसारकै लागि एउटा दु:खद दिन हो। मानव सभ्यतामा मानव नै दानव बनेको दिन हो शायद। संसारले त्यो दिनलाई सम्झीराख्दा आतंकबाद कहिले हट्ला र शान्ती छाउला भन्ने प्रश्नले पनि मनमा घेरिरह्यो। हुन त कुनै बेला आतंक र हिंसात्मक भनिएको समुह कालान्तरमा राजनीतिक शक्ती पनि बन्न पुगेका छन। तर पनि मलाई लाग्ने एउटा कुरा के हो भने बिचारलाई बन्दुकले अन्त गर्छु भन्ने हरु पनि बिचारको रुपन्तरण बिना केही गर्न सक्दैनन होला।

हिजोको दिन त्यस्तो भए पनि आजको दिन भने मलाई सम्झिन लायकको दिन भयो। एक बर्ष अघीको कुराबाट शुरु गरौ होला।

"भन्छन नि अधिकार र कर्तब्य सँगसगै आउछन। तेही भएर चुनौती पनि छ। यदी कुनै काममा चुनौती नै छैन भने त्यो कामको अर्थ पनि के नै रह्यो र होइन? जीवनको मजा नै तेस्मा छ नि।"

यो लेखेको आज एक बर्ष पनि बितेछ। यहाँको नेपाली समाजको अध्यक्ष हुँदाखेर मैले लेखेका कुरा हुन यि। समय कती चाँडो बित्दोरहेछ। यो कार्यकाल सम्पूर्ण रुपमा सफल भएको त भन्न नमिल्ला तर मेरो आफ्नै मुल्याङ्कनमा केही हदसम्म सफल नै मान्छु म। म केही हदसम्म सफल हुनु भनेको नै यहाँको नेपाली समाज पनि सफल हुनु हो जस्तो लाग्छ मलाई। नेपालीहरु मिलेर काम गर्न सक्दैनन भनिन्छ तर मेरो अनुभव भने त्यस्तो रहेन, राम्रो बातावरण र सहयोगी भावना भएका ब्यक्तीहरु जम्मा भए भने जस्तो सुकै काम पनि सानै प्रयास र लगनबाट गर्न सकिदोरहेछ। नेत्रित्वमा रहेका ब्यक्तीहरु पनि अहम मात्र गर्ने अनी सहयोगीका रुपमा काम गर्नेहरु पनि के भन्दा के कम तिर लाग्यो भने कुनै पनि संस्था दिगो रुपमा जान गर्हो हुदोरहेछ। जे होस् बिदेशमा रहेर पनि नेपाली भाषा, संस्क्रिती र एकताको पहिचान कयम गर्न केही मात्रा भए पनि योगदान गर्न सकेकोमा म आँफैलाई भाग्यमानी पनि ठान्दैछु।

अब नयाँ गठन भएको टिमलाई पनि शुभकामना, यसलाई अझै सफल र दिगो बनाउनमा उनीहरु पनि सफल होउन, र मैले आफ्नो अनुभव पक्कै पनि बाँड्नेनै छु।

Saturday, September 5, 2009

आधुनिक साहित्यकार

उ सानै देखि साहित्यमा रुची राख्ने गर्थ्यो। स्कुलको कार्यक्रमहरुमा कहिलेकहिँ फाट्टफुट्ट रुपमा कविता भने लेख्ने गर्थ्यो। समयको बेगसंगै धेरै समय बितिसकेको थियो। उ आफ्नो क्षेत्रमा एक किसिमको सफल नै थियो। तर सानै देखि साहित्यमा रुची भएको मान्छे पछी पनि अलिअलि लेख्नु पर्यो भन्ने विचारले केहि कविताहरु लेखेर पत्र पत्रिकाहरुमा पठायो पनि तर जता पनि छापिने कुनै संकेत नै देखिएन। हुन त तेस्तो कलात्मक त थिएन पनि तर तेस्तो निम्न कोटीको पनि थिएन तर के गर्नु छापिएन। उसले देख्यो एता उता पत्रिकामा उत्तर आधुनिक कला साहित्य सम्बन्धि केहि लेखहरु। बुझ्न त उसले पनि तेती धेरै त बुझेन तर जताततै तारिफ मात्र सुन्यो। कता कता विनिर्माण, डेरिडा, मार्क्स, अन्य पनि थुप्रै थुप्रै कुराहरु सुन्यो बुझ्ने प्रयत्न पनि गर्यो तर खासै बुझ्न भने सकेन। हुन त नेपालका हल्का फूल्का केहि उपन्यास पनि पढेको हो तर यी नयाँ कुराहरु भने तेती बुझ्न सकेन। एउटा यस्तै लेख सम्बन्धि नेपाली लेखक को एउटा किताब पनि किन्यो तर उपलब्धि भने शुन्य। एक दिन उसलाई एउटा चित्रकला प्रदर्शनीमा जाने अवसर जुर्यो जहाँ केहि चित्र बुझ्न सकेन र पनि मान्छेको भिड नै देख्यो। तेस्को एक हप्तापछी उसको पनि एउटा पत्रिकामा कविता छापियो जुन यस प्रकारको थियो।

मन्द बतास
छन्द कविता
ओठमा हाँसो र गालामा लाली
खोइ त ताली
मलाइ त गाली गाली
तिम्रो सरकार
मलाइ केरकार
सडकमा जाम
मुटुमा तिम्रै नाम

पत्रिकामा जस्तो कविता छापियो जताततै कविताको राम्रो प्रतिक्रियाहरु आउन थाले। प्राकृतिक सुन्दरता र आजको अवस्थाको राम्रो चित्रण भयो रे। हाम्रा समालोचक न हुन्, कहिले गतिला कुरा पनि झुर भन्दिन्छन कहिले तेसैलाइ वाह वाह। यसपछि अर्को कविता पनि छापियो, अब त झन वाह वाह। उसलाई थाहा भयो यहाँ के लेख्नुपर्दो रहेछ। अब त पत्रिकाले कुनै एक दिनको त्यो एक ठाउँ नै उसको लागि भनेर छुट्याईदियो। १-२ बर्षमा त उ पनि नेपालको गिनेचुनेको साहित्यिक व्यक्तिनै हुन पुग्यो। अब उसले कविताबाट निबन्ध पनि लेख्न थाल्यो, निबन्ध पनि होइन कथा पनि होइन, तर जे होस् लेखको तारिफ नै भयो। अब भने उसलाई पनि लाग्न थाल्यो उ ठुलो साहित्यकार नै हो। अब परिक्षण पनि गर्नु पर्यो जस्तो लाग्यो र नाटक लेख्यो अर्थ न बर्थको त्यो पनि हिट भयो। सानोमा चित्र पनि फाट्टफुट्ट त कोरेको नै हो किन यो विधा पनि हात नहाल्ने। बिबिध रंगहरु मिसायो अनि तयार भयो abstract art। अब पत्र पत्रिका, रेडियोमा उसकै अन्तर्वार्ता आउन थाले। उ वास्तवमै ठुलो साहित्यकार भयो। आज पनि उसकै अन्तर्वार्ता आउदै छ, कुन्नि के जाति ठुलै पुरस्कार पायो रे। कार्यक्रम प्रस्तोताले प्रश्न गर्यो तपाईको साहित्यिक यात्रा बारे छोटकरीमा भन्नुसन। उ भन्न थाल्यो सानै देखि रुची थियो, फलानो उमेरमा कविता लेखेको, चित्र कोरेको। त्यो कविता पढेर गुरुले पनि तिमि साहित्यकार हुन्छौ भन्थेरे। फलाको अंग्रेजी उपन्यासकारका कृतिबाट धेरै सिके, आदि आदि। नयाँ पुस्ताका लाइ केहि प्रेरणाका शब्दहरु पनि दिनुस न भन्दा यस्तो जवाफ थियो, साहित्य मनको भावको कसरी कहाँ पोख्ने भन्ने मात्र कुरा हो। र यो तपाई भित्र पनि छ, तेस्लाई हेर्न दृष्टि चाहिन्छ। अन्तिम हरफ पछी रेडियोले बिज्ञापन बजाउन थाल्यो। फलाना पुरस्कार प्राप्त साहित्यकारको नयाँ उपन्यासको तेस्रो संस्करण बजारमा निस्केको छ आफ्नो प्रति आजै सुरक्षित गर्नुहोला।